केराका प्रमुख रोगहरु र तीनको व्यवस्थापन

  • 275
  •  
  •  
  •  
  •  
  •  
    275
    Shares

 केरा नेपालको एक प्रमुख फलका रुपमा लिन सकिन्छ । संसारभरीमा उत्पादित केरा आधाजसो पाकेपछि प्रयोग हुन्छ भने आधाजसो विभिन्न परिकार बनाएर पनि खाने गरिन्छ । जस्तैः उसिनेर, बफाएर, फ्राई गरेर, चिप्स बनाएर, वियर उत्पादन गरेर, ग्रील गरेर, तरकारी बनाएर आदी । संसारभरि हेर्ने हो भने केराको सयौ जाती र प्रजातीहरु पाइन्छ ।
यसको उत्पादनमा अवरोध पुुर्याउने प्रमुख कारक तत्व चाही यसमा लाग्ने विभिन्न रोगहरु नै हुन् । नेपालमा पनि केरा खेतितिर किसानहरु दिन प्रतिदिन आर्कषित भैरहेका छन् । तर विभिन्न रोगका कारणले गर्दा राम्रो उत्पादन लिन सकिरहेका छैनन् । खासगरी पनामा रोग र थोप्ले रोगलाई केरामा देखिने मुख्य समस्याको रुपमा लिन सकिन्छ ।

१.पनामा रोग (Fusarium wilt):

यो केराको सबैभन्दा खतरनाक रोग हो । संसारको जुनसुकै भागमा पनि केरा खेती गर्दा यो रोग देखा पर्न सक्छ । हाल नेपालमा पनि यो रोगले चारैतिर आक्रमण गरेको पाइन्छ । जसले गर्दा केरा खेतिमा अवरोध पुर्याइरहेको देखिन्छ । यसबाट किसानहरुले धेरै नोक्सानी बेहोर्नु परेको छ ।

रोगको लक्षण: केराको जात, उमेर, वातावरण र रोगको जीवाणुको जात अनुसार विभिन्न प्रकारका लक्षणहरु देखा पर्दछन । जसले गर्दा अरु रोगसँग पनि झुक्किन सकिन्छ । यो रोगको बाहिरी र भित्री लक्षणहरुको राम्ररी अध्ययन गरिनुपर्दछ । यो रोग केराको कुनै पनि अवस्थामा लाग्न सक्छ ।
पहिलो लक्षण भनेको तल्लो बुढो पातहरु पहेँलो हुनु हो । पहेँलोपन पातको किनाराबाट शुरु भै बिचतिर फैलिदै जान्छ, पात ओइलाउँछ, खैरो रंगको हुन्छ र बोटमा झुुण्डिएका हुन्छन् । यस प्रकारको लक्षण माथिका पातहरुमा सर्दै जान्छ र केवल बिचको एउटा पात हरियो ठाडो अवस्थामा रहन्छ । अन्त्यमा त्यो पनि तितरवितर हुन्छ, बोट मात्र ठाडो रहन्छ ।
यस्ता रोगी बोटलाई तेर्साे पारी काटेर हेरेमा भित्री भागमा पहेँलो र रातो वा खैरो थोप्ला तथा धर्साहरु देखिन्छन । बिचमा पहेँलो अनि रातो वा खैरोले घेरेको हुन्छ । यस्ता लक्षण तल गानो सम्म पुग्दछ र नराम्रो गन्ध समेत आउँछ । कहिलेकाही रोगी केराको थाम ठाडो गरि फुुटेका धर्साहरु पनि देखा पर्न सक्दछन ।

 

यो रोग फ्युजारियम अक्सीस्पोरम क्युवेन्से (Fusarium oxysporum f.p. cubense) नामक ढुसिबाट सर्दछ । यसले तीन प्रकारका बीउ उत्पादन गर्दछ । जस्तै: मेक्रोकोनिडिया ( Macroconidia), माइक्रोकोनिडिया (Microconidia), क्लेमाइडोस्पोर (Chlamydospore) जसबाट रोग फैलिन्छ । खासगरी क्लेमाइडोस्पोर चाँही माटोमा धेरै वर्षसम्म बाँची रहन सक्छ । यी बीउहरु उम्रिन्छन र केराको बोटको स–साना जराबाट भित्र पस्दछन । त्यसैले गर्दा रोगी बगैंचाको विरुवा मार्फत नयाँ–नयाँ बगैचाहरुमा यो रोग सर्दछ । केराको जरामा एक प्रकारको जुका रेडोफोलस सिमिलिस ( Radopholus similis) ले आक्रमण गर्दछन र स–साना घाउ बनाउँछन जसले गर्दा फ्यूजारियम ढुसीलाई पस्न मद्धत गर्दछ ।

व्यवस्थापन: सर्वप्रथम रोग अवरोध केराको जात खोजी गरी लगाउनु नै सर्वोत्तम उपाय हो । काभेन्डीस (Cavendish) जातको अथवा यसबाट उन्नत गरिएका केराको जात खोजेर लगाउने गर्नुपर्दछ । केरा खेती गर्नु अगाडि अथवा पछाडि पनि भलपानी जम्मा गरी राख्न सकिन्छ भने रोगबाट केहि मात्रामा छुुट्कारा पाउन सकिन्छ जति लामो समयसम्म राख्न सक्यो उती नै फाइदा पुग्छ । विरुवा लगाउने खाल्टोमा चुना प्रयोग गर्ने, जैविक विषादी ट्राइकोर्डमा (Trichoderma) को प्रयोग राम्ररी कुहिएको मलको साथमा प्रयोग गर्ने र टिस्यूकल्चरबाट उत्पादन गरिएका, निरोगी विरुवाहरु लगाउने । यसरी लगाएको विरुवामा ६ महिनापछि ३ देखि ४ हप्ताको फरकमा कार्वेन्डिजिम (Carbendazim) रासायनिक विषादी ०.१% को घोल बनाई विरुवाको जरासम्म पुग्ने गरि ट्रेन्चीङ गर्नुपर्छ ।

२. मोको रोग (Bacterial wilt):

यो रोग संसारभरी केरा खेती गरिने ठाँउमा देखा पर्न सक्दछ । खास गरी “मोको” जातको केरामा यो रोग पहिलोपटक पत्ता लागेको हो । जसले गर्दा यो जातको केरा खेती पुरै नास भएको थियो । हाम्रो देशमा पनि कुनै–कुनै ठाउमा यो रोग देखा पर्न थालेको छ ।

रोगको लक्षणः यसको प्रमुख लक्षण भनेको रोगी बोटमा केराहरु समय अगावै पाक्न थाल्दछन् । रोगी बोटको भित्र भागको रङ उडेको हुन्छ र कालो भएको हुन्छ । रोगी बोटहरु अन्त्यमा मर्दछन् र जमिनमा ढल्दछन् । 

यस्ता रोगी बोटहरुको गानो काटेर हेरेमा चिप्लो ब्याक्टेरियल उज ( धुवा उडेजस्तो ) निस्कन्छ र नराम्रो गन्ध पनि आउछ तर यसमा रातो र खैरोपन भने देखिदैन ।
यो रोग स्युडोमोनाज सोलानसियारम (Pseudomonas solanacearum ) नामक व्याक्टेरियाबाट लाग्दछ । यो रोगको जिवाणु पानीबाट, किराहरुबाट र रोगी विरुवाबाट फैलिन्छ । जुका रेडोफोलस सिमिलिसले पनि जिवाणुलाइ बोट विरुवामा पस्न मदत गर्दछन् ।

व्यवस्थापन: रोगी विरुवा बगैंचाबाट हटाएर पूर्णरुपमा नष्ट गर्ने । केराको बोटलाई सकेसम्म कुनै पनि चोटपटक लाग्नबाट जोगाउने । रोगी बगैँचाको पानी स्वास्थ्य बगैँचामा आउन रोक लगाउने । बगैँचा राम्रोसँग सफासुग्घर राख्न विशेष ध्यान पुर्याउनु पर्छ । बगैँचामा टिस्युकल्चर प्रविधि बाट उत्पादन गरिएका विरुवा मात्र लगाउनु पर्छ । केरा पसाए पछि भाले फूल काटेर हटाई दिने गर्नु पर्दछ । यो रोग सहने कुनै पनि केराको जात छैन त्यसैले राम्रो स्याहार संम्भार गरेर मात्र यो रोगबाट बचाउन सकिन्छ ।

 ३. सिगाटोका थोप्ले रोग (Sigatoka):
यो रोग पनि केरा खेती हुने जुनसुकै ठाउँमा देखा पर्न सक्छ । तर यसबाट केराखेती पुरै नष्ट भने हुदैन ।रोगको लक्षणः शुरु शुरुमा केही खैरा खालका थोप्लाहरु पातमा देखा पर्छन यस्ता थोप्लाहरु तलका बुढो पातमा धेरै देखिन्छन । यी थोप्लाहरु विस्तारै बढ्दै जान्छन र खैरोबाट कालो रंगमा परिणत हुन्छन् । यस्ता थोप्लाहरु गोलाकार अथवा अण्डाकार हुन्छन् । यी थोप्ला वरीपरि पहेँलो रंगको परिधिले घेरेको हुन्छ । यी थोप्लाहरु एक आपसमा जोडिएर ठूलो –ठूलो हुदै जान्छन र अन्त्यमा पुरै पातलाइ सुकाई नष्ट पार्दछन् ।
यो रोग सरस्कोपारा मुसे (Cercospora musae) नामक ढूूसीबाट लाग्दछ । यस ढुसीको विज (Conidia) लाई हावाले उडाएर लैजाने हुदा रोग फैलन पुग्दछ ।

व्यवस्थापन: यसको व्यवस्थापन गर्न बोर्डो मिक्स्चर (५ ग्राम निलोतुथो, ५ ग्राम खाने चुन र १ लिटर पानीमा मिलाइ विरुवालाई छर्किदिने र विरुवाको फेदमा पानी हाली दिने गर्नुपर्छ ।
यसको नियन्त्रण गर्न आलसको तेल मात्रै अथवा आलसको तेलमा डाइथेन एम–४५ (२ देखि ३ ग्राम डायथेन एम–४५ प्रति लिटर तेल) मिलाई छर्किन सकेमा प्रभावकारी ढङगबाट नियन्त्रण गर्न सकिन्छ ।यसको साथै रोग अवरोधक केराको जातको छनौट गरि लगाउन सकेमा अझै बढी प्रभावकारी हुन्छ ।

४. टुप्पो झुप्पे रोग ( Bunchy top):

यो विरुवाको कुनै पनि अवस्थामा देखा पर्न सक्दछ । शुरुमा गाढा हरियो धर्साहरु पातमा देखिन्छ । पातहरु ठाडो ठाडो धेरै एकै ठाउँमा आएको हुन्छ । बोट होचो हुन्छ , बढ्न सक्दैन अनि केरा पसाउँदैन । अन्त्यमा रोगी विरुवा ओइलिएर मर्दछन् ।


यो रोग भाइरस (विषाणु) बाट लाग्दछ । यो रोगको विषाणु केराको लाही किराले सार्दछ । यसको नियन्त्रण गर्न रोगी विरुवा पूर्ण रुपमा नष्ट गर्ने, स्वस्थ ठाउँको विरुवा लगाउने अथवा टिस्यूूकल्चरबाट उत्पादन गरिएका निरोगी विरुवा मात्र लगाउने गर्नुु गर्दछ साथै लाही किराको व्यवस्थापनका लागी किटनाषक विषादीको प्रयोग गर्नुु पर्दछ ।

५. एन्था्रक्नोज रोग (Anthracnose):
यो रोग पाक्न लागेको अथवा पाकेको केरामा मात्र लाग्दछ । केरामा कालो धब्बाहरु देखिनुको साथै कालो हुने गर्दछ र केरा कुुहिन थाल्दछ ।


यो राेग कोलेट्रोट्राईकम मुसे ( Colletotricum musae) नामक ढुसीबाट लाग्दछ । यसको नियन्त्रण गर्न ठीक समयमा केरा काट्ने र राम्ररी व्यवस्थापन मिलाउने जस्तैः केरा काटेपछि तुुरुन्तै ठण्डा ठाउँमा चिस्याउने घरमा जम्मा गर्नुु गर्दछ । त्यसपछि बेनलेट विषादी ०.१ प्रतिशतको घोलमा डुवाएर निकाल्ने । त्यसपछि बजार व्यवस्थापन गर्नुु गर्दछ ।
लेखक प्रा. डा. सुुन्दरमान श्रेष्ठ, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनको पूर्व डीन हुनुहुन्छ ।


  • 275
  •  
  •  
  •  
  •  
  •  
    275
    Shares
error: Content is protected !!