कस्तो मासु खान हुँदैन ?

एजेन्सी। मानिसले प्रशोधन गरिएको मासु सेवन गर्दा दमको लक्षण भएकाको लागि स्वास्थ्य झन् खराब हुने शोधकर्ताहरुले बताएको बीबीसीले जनाएको छ । थोराक्स जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार हप्तामा चार भाग भन्दा बढी सेवन गर्नेमा दमको जोखिम बढ्ने निष्कर्ष निकालेको छ । यो शोध एक हजार फ्रान्सेलीहरुमाथि गरिएको बताइएको छ ।

शोधकर्ताहरु ससेज, सलामी तथा ह्याममा नकुहियोस भनेर प्रयोग गरिने ‘नाइट्रिट’ नामक हानिकारक रसायनले दमलाई झन जटिल बनाउने विश्वास गरेको बताइएको छ । तर उनीहरुले यसको बारेमा अझ थप अनुसन्धान हुनुपर्ने बताएका छन् । उनीहरुले एकै प्रकारको खानाको बारेमा चिन्ता गर्नुभन्दा मानिसहरुले स्वस्थ र पोषणमा विविधता भएको खाना खान सुझाएका छन् ।

यसअघि प्रसोधित मासु खाँदा क्यान्सरको पनि जोखिम बढ्ने तथ्य बाहिर आएको थियो । बिज्ञहरुले राम्रो स्वास्थ्यका लागि मानिसहरुले एक दिनमा ७० ग्राम भन्दा बढी रातो तथा प्रशोधित मासु खानुहुँदैन । यस अनुसार एउटा ससेज तथा सुकुटीको टुक्रा भाग पर्छ । यस अध्ययनमा भाग लिएका व्यक्तिहरु फ्रान्समा सन् २००३ देखि २०१३ सम्मको खाद्यान्न र स्वास्थ्यको बारेको सर्भेमा समेत भाग लिएका थिए । ती मध्ये आधा जति दमका बिरामी भएको बताइएको छ ।

यो सर्भेले खास रुपमा दमको लक्षणहरु जस्तै श्वास फेर्न अप्ठ्यारो हुने, स्वाँ स्वाँ गर्ने, छातीमा जकडन हुने र पोलिएको मासु, एक टुक्रा ह्याम, एउटा ससेज वा दुईटुक्रा सलामी खाने बानी जस्ता बिषयमा अध्ययनका क्रममा बिशेष ख्याल गरिएको बताइएको छ । दम भएका मानिसमा फोक्सोको अवस्था बढी मासु खाने मान्छेमा खराब भएको पाइएको थियो । अध्ययनमा हप्तामा चार भाग भन्दा बढी मासु सेवन गर्नेको दममा सबैभन्दा बढी खराबी आएको पाइएको छ ।

प्रशोधित मासु भनेको के हो त ?

प्रशोधित मासु भन्नाले मासुको आफ्नो जीवन परिवर्तन गर्नु वा स्वाद परिवर्तन गर्नु र पोलेर, सुकाएर, नुन थपेर वा नकुहिने रसायन प्रयोग गरेर जस्ता तरिकाहरु प्रयोग गरेर तयार गरेका मासु हुन् ।
तर मासुलाई किमा बनाउने काम प्रशोधनभित्र पर्दैन । प्रशोधित मासुभित्र ब्याकोन, ससेज, हट डग, सलामी, क्रोन्ड बिफ, बिफ जर्की ह्याम, क्यानको मासु वा मासुको चटनी आदि पर्दछन् ।
रातो मासु भन्नाले सेतोको तुलनामा कालो रंगको मासु हो, जस्तै बिफ, मटन, बफ, पोर्क जसमा प्रोटिनको मात्रा ज्यादा हुन्छ र जसले रगत तथा छालामा अक्सिजन, हेमोग्लोबिन र म्योग्लोबिनलाई बाँधेर राख्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रशोधित मासुले क्यान्सर निम्त्याउँछ । रातो मासु पनि एक प्रकारको क्यान्सर निम्त्याउने पदार्थ हो ।

किन यसले क्यान्सर पैदा गर्छ त ?

मासु प्रशोधनका क्रममा क्यान्सर पैदा गर्ने रसायन निर्माण हुन्छ । ससलाई एन—निट्रोसो कम्पाउन्ड र पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन भनिन्छ ।
उच्च तापक्रममा मासु पकाउँदा खासगरि बार्बेक्युले पनि खतरनाक रसायन उत्पादन गर्न सक्छ । तर डब्लूएचओ विज्ञले जनाएअनुसार क्यान्सरको जोखिमलाई अmझै पूर्ण रुपमा बुझ्न भने बाँकी रहेको बताइएको छ ।

जोखिम कति ठूलो छ त ?

हरेक दिन ५० ग्राम प्रशोधित मासु खाँदा (जो व्याकोनको दुई टुक्रा बराबर हुन्छ) क्यान्सरको जोखिम १८ प्रतिशतले बृद्धि हुन्छ ।
हरेक दिन १०० ग्राम रातो मासु खाँदा क्यान्सर हुने जोखिम १७ प्रतिशतले बढ्छ ।

के मासु पनि धुमपान जस्तै खराब हो?

होइन । एक अनुमानित तथ्थांकअनुसार ३४ हजार क्यान्सरबाट हुने मृत्युहरु प्रशोधित मासुबाट हुन्छ भने धुमपानबाट १० लाख र मध्यपानबाट ६ लाख मानिसको मृत्यु हुन्छ ।

रातो मासु कति खाने ?

डब्लूएचओ भन्छ—यति नै खानुपर्छ भन्नेमा पर्याप्त प्रमाण छैन । विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार सम्भव भएसम्म प्रशोधित मासु कम खायो भने त्यति राम्रो हुन्छ । साथै हप्तामा ५ सय ग्रामसम्म रातो मासु खाँदा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here