झापा, असार ३ –
दूध बिक्न छाडेपछि झापा गाउँपालिकास्थित शरणामतीका सयौँ किसान समस्यामा परेका छन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका उनीहरु दूधले बजार नपाएपछि निराश बनेका हुन् ।
नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित एनएमसी डेरी उद्योगले यहाँका किसानद्वारा उत्पादित दूध खरिद गर्दै आएको थियो । दूध उत्पादन गर्न भन्दै गाई–भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो । तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरी उद्योगले दूध खरिद गर्न छाडेपछि किसानले सडकमै दूध पोखेका छन् ।
बजारमा नबिकेपछि दूधबाट दही जमाएर किसानले गाईलाई नै खोलेमा दही दिने गरेका छन् ।
आक्रोशित बनेका किसानले शरणामतीस्थित एनएमसी दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि शनिबार सडकमा सयौँ लिटर दूध पोखेका हुन् । किसानहरुका अनुसार एनएमसी डेरीले १२ देखि १६ जेठसम्म दूध खरिद गरेन । त्यसपछि २१ जेठदेखि ४ दिनसम्म खरिद गरेन । अहिले फेरि १ देखि ३ असारसम्मका लागि दूध खरिद बन्द गरेको हो । चाँडै नै डेरी उद्योगको बैठक बसेर समस्या समाधान गरिने एनएमसीले जनाएको छ ।
उत्पादन भएजति सबै दूध खरिद गर्ने बाचा गरेको एनएमसी डेरी उद्योगले पछिल्ला केही दिनमा २५ प्रतिशत कटाएर दूध खरिद ग¥यो । दुई महिनादेखि भने कहिले दूध खरिद गर्दै कहिले बन्द गर्दै आएको किसानको गुनासो छ ।