पर्वत ।
पर्वतको कुश्मा नगरपालिकाले कृषकका लागि तरकारी र फलफुलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउन नर्सरी स्थापना गरेको छ । कुस्मा नगरपालिका–७ खरेहामा सञ्चालन गरिएको तरकारी र फलफुल नर्सरीले शुक्रबार देखि औपचारिक रुपमा बिरुवा बितरण शुरु गरेको छ ।
एउटा हाईटेक टनेलभित्र २ रोपनी क्षेत्रमा फैलिएको नर्सरीमा अहिले तरकारीका विरुवा उत्पादन भैरहेको छ । नगरपालिकाभित्रको माटोको बिबिधता हेरेर माटो तथा हावापनी सुहाउदो तरकारी र फलफुलका बिरुवा उत्पादन तथा बितरण गर्ने लक्ष्य राखिएको कुश्मा ७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । नर्सरी सँचालनले कृषकले निजी नर्सरीमा किन्ने बिरुवाका मुल्य भन्दा नर्सरीबाट दुई तिहाई सस्तो दरमा बिरुवा उपलब्ध गराउने वडाअध्यक्ष सुवासचन्द्र पौडेलको भनाइ छ ।
नगरपालिकाभित्रका कृषकहरुबाट प्रत्येक महिनाको २५ गतेभित्रमा विरुवाको माग संकलन गर्ने र माग अनुसार सम्बन्धित कृषकहरुलाई विरुवा वितरण गर्ने तयारी छ । उक्त नर्सरीमा उन्नत जातको काउली, टमाटर, बन्दागोवी, व्रो काउली, खुर्सानी, रायो, सिमी, वोडीका विरुवा सहित डालेघाँस, कागती, सुन्तला, निवुवा, कफिका विरुवा समेत जमाउने तयारी छ ।
नर्सरी स्थापना तथा सँचालनको को लागी गत वर्ष १ लाखको वजेट विनयोजन गरेर काम थालिएको थियो भने यो आर्थिक वर्षमा नगरपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको छ । अव कुश्मा नगरपालिकाका प्रत्येक वडामा नर्सरी स्थापना गरि उन्नत जातका विरुवा कृषकहरुलाई वितरण गर्ने योजना रहेको नगरप्रमुख जोशीले बताउनुभयो ।