रुपन्देही – सरकारले सीमानाकामा विषादी परीक्षण अनिवार्य गरेपछि रुपन्देहीको बेलहिया नाका हुँदै हरियो तरकारी आयातमा कमी आएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विषादी परीक्षणको व्यवस्थाले हरियो तरकारीको आयात करिव ठप्प जस्तै भएको हो ।
रुपन्देहीका हाटबजारमा यसअघि हरियो तरकारी छ्यापछयाप्ती पाइने गरेकोमा अहिले भने स्वदेशमै उत्पादित तरकारी मात्रै पाइने गरेको उपभोक्ताले बताएका छन् ।
“बजारमा भारतबाट आएको हरियो तरकारी पाइनै छाडेको छ, यहाँका व्यापारीले भने अभाव भएको भन्दै भाउ बढाउन थालेका छन्”–भैरहवा बुद्धचोक निवासी सुनिता पाठकले भन्नुभयो ।
सीमानाकामा तरकारी बोकेका गाडी रोकिएपछि भारतबाट तत्काल नकुहिने खालका तरकारी आएकाले हरियो तरकारीको आयातमा कमी भएको भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताउनुभयो । “बेलहिया नाकामा विषादी जाँच्ने उपकरण नहुँदा काठमाडौं पठाउनुपर्छ, त्यसका लागि केही दिन गाडी नाकामै रोकिन्छन्, हरियो सागसब्जी तत्काल कुहिने संभावना रहन्छ, त्यसैले आयातमा कमी भएको हो”–उहाँले भन्नुभयो ।
विषादी परीक्षणको व्यवस्थाअघि हरियो तरकारी नियमित आइरहेको थियो । “अहिले परीक्षण गर्दा हरियो तरकारीमा अलि धेरै विषादी भएको पाइएको छ, उहाँले भन्नुभयो–“नियमित परीक्षण गर्न थालेपछि हरियो तरकारी आउनै छाड्यो ।”
यता, उपभोक्ताले भने भारतबाट तरकारी नआएको मौका छोपेर यहाँका व्यवसायीले भाउ बढाएको गुनासो गरेका छन् । “व्यापारीले जुन तरकारीको गाडी रोकियो भन्ने थाहा पाउँछन्, त्यो वस्तुको मूल्य बढाइहाल्छन्”–उपभोक्ता हित संरक्षण मन्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठकले भन्नुभयो–“यसको नियन्त्रण सरकारले गर्न सकेको देखिएन ।”
अभाव सिर्जना गरेर भाउ बढाउनेलाई कारवाही हुनुपर्ने उहाँले बताउनुभयो । उपभोक्ताका अनुसार रुपन्देहीका हाटबजारमा अहिले तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।
व्यवसायीले सीमानाकामै परीक्षणको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । सरकारले ल्याएको व्यबस्था ठीक भएप नि यसको तयारी नपुगेको उनीहरूको भनाइ छ । “काठमाडौं पठाएर परीक्षण गर्दा व्यवसायीले दोहोरो मार खेप्नुपर्छ, त्यसैले पनि भाउ बृद्धिभई प्रत्यक्ष मार उपभोक्तालाई नै पर्छ”–लुम्बिनी कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले भन्नुभयो–“भन्सारमा गाडी रोकिंदा ठूलो परिमाणमा तरकारी र टमाटर खेर गइरहेका छन्, यसले पनि बजार भाउ बढाएको छ ।”
भन्सारबाट नमूना लिएर काठमाडौँमा परीक्षण गराएर फेरि भन्सार पुगेर गाडी पास गराउँदासम्म व्यवसायीको प्रतिगाडी १२ हजार रुपैयाँ थप खर्च हुने अध्यक्ष पन्थीको भनाइ छ । सरकारले ल्याएको प्रावधान पूर्णरुपले कार्यान्वयन गर्ने हो भने जिल्लामै विषादी परीक्षणको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । “परीक्षणको व्यवस्था जिल्लामै नमिलाएसम्म समस्या समाधान हुँदैन”–उहाँले भन्नुभयो–“व्यवसायीलाई यसरी समस्यामा पार्नु हुँदैन, नाकामै प्रयोगशाला बनाएर जाँच गरे झनै राम्रो हुन्छ ।”
सरकारले तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेपछि गाडी भन्सारमै रोकिन थालेका हुन् ।
[url=https://fastpriligy.top/]emla cream and priligy tablets[/url] I have always had great communication from this clinic