दाङ –
यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेकोे छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् ।
कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन । अहिले आएर गबारो र ब्लाष्टको संक्रमणले धानबाली सखाप पार्न थाल्यो भन्दै उपचारका लागि धानको बोट लिएर कृषि सेवा केन्द्रमा आउनुभएकी तुलसीपुर–६ की किसान कल्पना चौधरीले यहाँका धेरै किसानका धानमा यस्तो देखिएको बताइन् ।
धानमा रोग देखा परेपछि दिनहुँ किसान बजारका एग्रोभेट, कृषि सेवा केन्द्रमा आउने गरेका छन् । पश्चिम दाङका बाघमारे, शान्तिनगर, पवननगर, फूलबारी गोलटाकुरी, हलवार, मानपुर, टरिगाउँ, डुरुवाका विभिन्न वडाबाट किसान कृषि सेवा केन्द्र र तुलसीपुरका एग्रोभेटमा उपचारको उपाय खोज्दै आउने गरेका छन् ।
धेरैजसो किसानका धानबालीमा गबारो र ब्लाष्ट रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले जानकारी दिए । उहाँले कतैकतै भने जिंकको समस्याका कारण खैरो रोग लागेको भन्ने गुनासो आएकाले रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिइएको पनि उनले बताए ।
धेरैजसो हाइब्रेड जातको युएस ३१२ धानमा यो रोग देखा परेको छ । “दैनिक आठ/दश किसान कार्यालयमा आउँछन्, समस्या लिएर रोगको नियन्त्रणको उपाय सिकाएर पठाउने गरेका छौँ”,उहाँले भने।
धुलेब्याड राखेका स्थानका धानमा बढी रोग देखिएकाले किसानलाई आगामी वर्ष हिलेब्याड राख्न सल्लाह दिएको प्रमुख केसीले बताउनुभयो । तुलसीपुरस्थित एग्रीनेपाल प्रालिमा पनि दैनिक ३०जनासम्मले धानको बोट बोकेर आउने गरेको कृषि प्राविधिक माधव केसीले जानकारी दिनुभयो ।
ब्लाट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरीफष्ट’ वा साइपरमेथ्रीन साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिइएको पनि उहाँले बताउनुभयो ।