हामी कहाँ माटोको उवर्राशक्ति के कति छ र त्यसको सुधार वा व्यवस्थापन गर्न के गर्नु पर्दछ भन्ने थाहा पाउनको लागि माटो परीक्षण गराउने परम्परा छैन् । यदाकदा माटोका अम्लियपना थाहा पाउनको लागि अम्लियपनाको जाँच र अम्लियपनाको सुधार गर्नको लागि कृषि चुनको प्रयोग गर्न कृषि प्राविधिक तथा कृषि चुन उद्योगले समेतले प्रयास गर्दै आए पनि सो को प्रभावकारी उपयोग भएको भने पाईदैन् । तर बिगत केही दशकबाट बढी उत्पादन दिने नयाँ जातको खेती गरिनु, नाईट्रोजनयूक्त मलको बढ्दो प्रयोग, भु:क्षय आदी कारणले गर्दा माटोको उर्वराशक्तिमा प्रतिकुल प्रभाव परी उत्पादन घट्दै गएको कुरा कृषकहरुले समेत महसुश गर्न लागेको पाईन्छ । तसर्थ माटोको उर्वराशक्ति कायम राखी उत्पादनलाई कायम राख्न समय–समयमा आप्mनो खेतबारीको माटो परीक्षण गराई माटोको अम्लियपना तथा उर्वराशक्ति बारे जानकारी राखी माटो व्यवस्थापन कार्य गर्नुपर्दछ । माटोको नमूना सङ्कलन विभिन्न उदेश्य राखी सङ्कलन गर्न सकिन्छ ।
(क) माटोमा निहित खाद्यतत्व तथा अम्लियपनाको जानकारी लिन साधारणतया अन्नबाली तथा तरकारी बिरुवाको पनि खाना सोस्ने जराहरु जमिनको माथिल्लो सतह मै छरिएर रहेका हुन्छन् । त्यसैले कुनै पनि माटोको अम्लियपना थाहा पाउन र बिरुवाको पोषक तत्वहरु माटोमा कति छ भन्ने थाहा पाउन साधारणतया जमिनको सतह देखि १५–२० से.मी. तल सम्मको माटो मात्र सङ्कलन गरे हुन्छ ।
चित्र: अन्नबाली तथा तरकारी बालीको लागि नमुना सङ्कलन गर्ने तरिका
(ख) गहिरो जरा जाने बिरुवाहरु जस्तै: फलफुल बोट बिरुवा लगाउनको लागि जमिनको माथिल्लो माटो मात्र राम्रो भएर पुग्दैन । उक्त माटोमा बिरुवाको जरा राम्रोसँग बढ्न सक्छ वा सक्दैन । निकासको राम्रो व्यवस्था छ छैन वा तल्लो सतहको माटोको भौतिक अवस्था कस्तो छ भन्ने पनि थाहा पाउनु आवश्यक हुन्छ । तसर्थ फलफुल बोट बिरुवा वा अन्य गहिराई सम्म जरा जाने बिरुवा लगाउनु अघि उक्त जमिनमा ३ फिट गहिरो खाडल खनि सतह देखी १५ से.मी. सम्मको छुट्टै, १–३० से.मी. सम्मको छुट्टै, ३०–६० से.मी. सम्मको छुट्टै र ६०–९० से.मी. सम्मको छुट्टै नमुना सङ्कलन गर्नुपर्दछ ।
चित्र: फलफुल बोट बिरुवा लगाउनका लागि नमुना सङ्कलन गर्ने तरिका
माटो विश्लेषणको भरपर्दो प्रतिवेदन प्राप्त गर्नको लागि नमुना सङ्कलन गर्दा विषेश ध्यान दिनु जरुरी हुन्छ । नमुना सङ्कलन गर्दा ध्यान नदिई जथाभावी नमुना सङ्कलन गरेमा माटो विश्लेषणको प्रतिवेदन भरपर्दो हुन नसक्ने हुँदा तपशिलका कुराहरुमा ध्यान दिनुपर्दछ ।
- धेरै ठूलो जमिनबाट नमूना सङ्कलन गर्दा एक ठाउँबाट मात्र नमूना सङ्कलन नगरी धेरै ठाउँबाट सङ्कलन गर्नु राम्रो हुन्छ ।
- माटोको नमूना सङ्कलन गरी सकेपछि रुखमुनी छहारीमा वा अन्य घाम नपर्ने ठाउँमा सुकाई ओभानो हुन दिनुपर्दछ, झारपात हटाउनु पर्दछ ।
- राम्रो सँग सुकेपछि माटो धुलो पारी मिसाउनु पर्दछ र आधा किलो माटो प्लाष्टिक वा कपडाको थैलोमा राख्नु पर्दछ । धेरै ठाउँबाट नमूना सङ्कलन गरी मिसाउँदा धेरै माटो भएमा त्यसलाई कम गरी आधा बनाउँनु पर्दछ ।
- माटोको नमूना लिई सकेपछि नमूनामा कृषकको नाम, खेतबारीको किसिम, यसअघि प्रयोग गरेको मलखादको मात्रा, यसअघि लगाएको बालीको अवस्था, पछि लगाउने बालीको किसिम आदी राम्रोसँग लेखी टाँस्नुपर्दछ ।
- नमुना सङ्कलन गर्ने जमिनको माटोको रङ, बनावट आदी फरक फरक छ भने फरक फरक रङ वा बनोट भएको माटोको नुमना छुट्टा छुट्टै सङ्कलन गर्नु पर्दछ ।
- नमूना सङ्कलन गर्दा आली, कान्ला आदिको नजिकबाट सङ्कलन गर्नुहुँदैन ।
- पानीको मुहान वा निकासको नजिकबाट पनि नमूना सङ्कलन गर्नुहुँदैन ।
- भर्खरै मात्र मलखाद प्रयोग गरेको ठाउँबाट पनि नमूना सङ्कलन गर्नुहुँदैन । सकभर बाली लिई सकेपछि नमुना सङ्कलन गर्नुपर्दछ ।
- ठूलो वर्षा वा पानी परेको लगत्तै नमुना सङ्कलन गर्नुहुँदैन । सकभर वर्षा शुरु हुनु अघि नमूना सङ्कलन गर्दा राम्रो हुन्छ तर धेरै सुख्खा माटोमा नमूना सङ्कलन गर्न गाह्रो पर्ने हुँदा केही चिसो भएको बेला नमूना सङ्कलन गर्नुपर्दछ ।
- मल थुपारेको ठाउँ वा गाई बस्तु बाधेको ठाउँबाट नमूना सङ्कलन गर्नुहुँदैन ।
माटोको नमूना पठाउँदा समावेश गर्नु पर्ने विवरण
कृषकको नामः
ठेगानाः
जग्गाको नामः
नमूना लिएको मितिः
मलखाद प्रयोग सम्बन्धि विवरण
माटोमा जाँच गर्नु पर्ने तत्वहरुः
माटो जचाउनु पर्ने कारणहरुः
खास समस्याः
अन्य केही भए लेख्ने
लेखक वरिष्ठ माटो विज्ञ सुनिल पाण्डे माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी, प्रदेश पोखरामा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?