ताप्लेजुङ- ताप्लेजुङ सदरमुकामस्थित तोक्मे डाँडामा वर्षौदेखि लाग्दै आएको हाट बजार व्यवस्थापन नहुँदा व्यवसायी र उपभोक्ता समस्यामा परेका छन् ।
साताको शनिवार र मंगलबार लाग्ने सदरमुकामको एक मात्र उक्त हाट बजार क्षेत्र दुर्गन्धित र फोहोर हुँदा उनीहरु समस्यामा परेका हुन् । साँघुरो र फोहोरै फोहोरले भरिएको हाट बजारमा आफ्ना उत्पादन राख्न ब्यवसायी बाध्य छन् ।
वर्षौदेखि यो हाट बजार अव्यवस्थित रुपमा लाग्दै आएको स्थानीयले बताएका छन् । सदरमुकामको प्रवेशद्धारको रुपमा रहेको हाट बजार क्षेत्र दुर्गन्धित बन्दै जादा त्यो क्षेत्रमा प्रवेश गर्ने बाहिरी जिल्लामा मानिसहरु पनि समस्यामा पर्ने गरेका छन ।
हाट बजारमा खासगरी तरकारी, अन्न, हाँस–कुखुरा, माछाजस्ता बस्तु किनबेच हुने गरेको छ । मूल सडकदेखि सहायक सडकहरूमा लाग्ने हटियामा सवारी साधन समेत जाँने भएकाले झनै समस्या भएको हो ।
वजार व्यावस्थापनको लागि भनेर नगरपालिकाले कर संकलन गरेपनि त्यसले देखिने गरिको काम नगरेको स्थानीयको गुनासो छ ।