काठमाडौं – बल्खुको तरकारी बजारमा अनुगमनका लागि गएको सरकारी टोलीलाई आज पनि व्यवसायिले अभद्र व्यवहार गरेका छन् । आज बिहानै बल्खु तरकारी बजारमा अनुगमनका लागि पुगेका अनुगमन टोलीलाई त्यहाँका केही व्यवसायीले अभद्र व्यवहार गरेका हुन् ।
प्रहरीले अनुगमन टोलीलाई अभद्र व्यवहार देखाउने र तरकारीको बिल देखाउन नसक्ने दुई जनालाई पक्राउ गरेको छ । यसअघि अनुगमन टोलीलाई काठमाडौंको मुख्य थोक बजार कालिमाटीका व्यवसायीले अनुगमनमा अवरोध गरेका थिए ।
गएको ४ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई कालीमाटीका व्यापारीले छेकेर नाराजुलुस गरेका थिए । यस क्रममा प्रहरीले कालिमाटीका एकजना व्यवसायीलाई पक्राउ गरेको थियो । उनलाई अहिले पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार बिहान पनि कालिमाटी तरकारी बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालिमाटीका सडकपेटीमा राखिएका पसल पनि हटाइएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अब तरकारीमा भएको सिण्डिकेट अन्त्य गर्न नियमित अनुमगन गर्ने जनाएको छ