अर्घाखाँची – बादरले मकैबाली नष्ट गरेपछि अर्घाखाँचीका किसानले तेजपत्ता लगाउन सुरु गरेका छन् ।
अर्घाखाँचीका ६ वटै स्थानीय तहका किसानले मकै खेती छाड्दै गएका छन । तेजपत्ताबाट पनि राम्रो आम्दानी हुने भएपछि किसानले विकल्प खोजेका छन् ।
बाँदर लखेट्न बजेट छुट्याएका स्थानीय तहले यो वर्ष तेजपत्ता रोप्न बजेट बिनियोजन गरेका छन् । गएको वर्ष सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकाले बादर हेरालुका लागि १(१ लाख रकम विनियोजन गरेका थिए ।
बाँदरले बालीमात्रै नभई मानवमाथि नै आक्रमण गरेपछि गाउँपालिकाले तेजपत्ता लगाउने विकल्प दिएका हुन् । बिहानको खाना बारीमै खाने छत्रदेव गाँउपालिका बल्कोटका ६८ बर्से दामोदर खनालले बाँदरले किसानलाई उठीबास बनाएको बताए ।
‘मकैको बीउसमेत जोगाउन नसकिएपछि तेजपत्ता लगाउन सुरु गरेका हौं, उनले भने । अर्घाखाँचीका ६ वटै स्थानीय तहमा बाँदरको समस्या छ । गाउँपालिकाले तेजपत्ता खेती विस्तारमा बिरुवा उत्पादन गर्न २८ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नं २ ले पनि १ लाख रुपैयाँ छुट्याएको छ । वन र खरबारीमा धमाधम तेजपत्ताका बिरुवा रोप्ने काम भइरहेको जिल्ला वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए ।
पाणिनी गाउँपालिकामा अहिलेसम्म झण्डै ५ लाख तेजपत्ताका विरुवा रोपिएको गाँउपालिका अध्यक्ष अच्युत गौतमले बताए । जिल्ला वन कार्यालयले तेजपत्ताको व्यावसायिक खेतीका लागि यो वर्ष ५ लाख विरुवा वितरण गरेको छ ।
पाणिनी गाउँपालिकाले आफ्ना ८ वटै वडामा नर्सरी स्थापना गरी हरेक नर्सरीमा ८ हजार बिरुवा उत्पादन गरी रोप्न थालेको जनाएको छ । बिरुवा बाँझो जमिन, खाली खेतबारी र खरबारीमा धमाधम रोप्ने काम भइरहेको छ ।
अड्गुरी, खिदिम, पोखराथोक, पणेना, धातीबाङ र मैदानमा छिटफुट रूपमा केही कृषकले यसअघि पनि तेजपत्ता बिक्री गरेर आम्दानी लिँदै आएका थिए ।
पाणिनी गाउँपालिकाले १ घर २ सय तेजपत्ताका बिरुवा रोप्ने अभियानै सञ्चालन गरेको छ । जसमा ५० बिरुवा जोगाएमा तीन वर्षपछि १ घरमा वर्षमा २ लाख रुपैयाँ आम्दानी भित्रिने र सिंगो गाउँपालिकाले लाखौं रुपैयाँ भिœयाउने योजनाका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष गौतमको दाबी छ । अधिकांश पुरुष वैदेशिक रोजगारीमा भएकाले बिरुवा रोप्न महिला नै सक्रिय भएका छन् ।