स्याङजा – स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक खेलमैदानमा पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ बिहीबारदेखि सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनाको सुरु प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो ।
एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङबाट ऐतिहासिक रजत पदक जिते पछि प्याराग्लाइडिङको चर्चा नेपालमा चुलिएको छ । साग तथा एसियाडमै समावेश भइसकेकाले यस खेललाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने मन्त्री विश्वकर्माको तर्क थियो ।
सन २०२० नेपाल भ्रमण वर्षमा साहसिक खेलमा वृद्धि गर्नुका साथै आँधीखोला भ्यालीलाई हवाई रंगशाला बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु नै विश्वकप आयोजनाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । विश्वकप प्रतियोगिता व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको संयोजकत्वमा मूल व्यवस्थापन समिति, सल्लाहकार समिति र विभिन्न जिम्मेवारीसहितका समिति गठन गरेर काम गरिएकोे छ । विश्वका २१ देशबाट प्रतियोगी सहभागिता रहेको खेलमा पुरुष एकल, महिला एकल, पुरुष समूह र महिला समूह गरी चार विधामा प्रतियोगिता सञ्चालन भएको छ । ‘लन्च मार्सलको निर्देशनअनुसार सुरक्षित तरिकाबाट टेकअफ गरी निश्चित तोकिएको ठाउँमा सबैभन्दा उत्कृष्ट अवतरण गर्ने विधालाई एक्युरेसी बिधा भनिन्छ । प्रतियोगिताका लागि भीरकोट नगरपालिकाको मैदानबाट उडेको प्याराग्लाइडिङ वालिङ नगरपालिका–११ डौवा फाँटमा अवतरण गरिने आयोजकले जनाएको छ । विश्वकप प्याराग्लाइडिङ नेपालको सुरुवात भएको भन्दै यसको प्रवद्वनका लागि प्याराग्लाइडिङ विशविद्यालय खोलेर अगाढी बढने आयोजक नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले दाबी गर्नुभयो ।
प्रतियोगिताको सञ्चालन खर्च एक करोड ७७ लाख हुने अनुमान आयोजकको छ । प्रतियोगिताको विजेतालाई चारवटा विश्वकप ट्रफी प्रदान गरिने छ । एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार, सात सय ५० र पाँच सय युरो पाउनेछन । यसैगरी, समूहतर्फका विजेताले एक हजार पाँच सय, उपविजेताले एक हजार दुई सय र तेस्रो हुने टोलीले एक हजार युरो पाउनेछ । प्रतियोगिता सफल बनाउनका लागि सरकारी तवरबाट पनि महत्वपूर्ण सहयोग भएको आयोजकको भनाइ छ ।