कृषि डेली – विषादीमुक्त कृषिका लागि यस बर्षको सप्ताव्यापी अभियान फागुन ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने मूल नाराका मनाइने सप्ताहव्यापी अभियानमा रासायनिक विषादीलाई कम गर्दै जैविक र बायोमेट्रिक मलको प्रयोगमा जोड दिइने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
विषादीबाट हुने असरलाई निर्मूल गर्ने लक्ष्यका साथ विगत पाँच वर्षदेखि नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
सप्ताहव्यापी कार्यक्रमअन्र्तगत फागनु ६ गते बनेपा नगरपालिका काभ्रेमा प्रभातफेरी, सडक नाटक प्रदर्शन, नेपाल टेलिभिजनको कृषि कार्यक्रममा सप्ताहभर विषादी सम्वन्धी चर्चा, रेडियो नेपालको कृषि कार्यक्रमको चर्चा, एफएमबाट सुचना प्रवाह र पोष्टर पम्पलेटहरु वितरण लगायतका कार्यक्रम गरिने केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले जानकारी दिए ।
उनले अझै पनि नेपालमा आम किसान विषादीको प्रयोग गर्न नसकेको भन्दै उनले केन्द्रले सप्ताव्यापी रुपमा अभियान सुरु गरेको बताए ।उनका अनुसार अझैपनि ६० प्रतिशत किसानले विषादीको प्रयोगबारे प्राविधिकलाई नसोधी सीधै एग्रोभेटबाट विषादी लिने गरेको बताए ।
कृषि क्षेत्रलाई घातक विषादीमुक्त बनाउन अत्यन्त घातक १६ वटा विषादीको प्रयोगमा प्रतिबन्ध र थप पाँचवटा घातक विषादी प्रतिबन्ध हुने क्रममा छन् । ऐन नियमावलीहरुमा परिमार्जन र कडाईका साथ लागू गर्न आइ पी एम कार्यक्रमलाई बढावा दिने विभिन्न कार्यक्रमहरु हाल सञ्चालनमा छन् । त्यस्तै कालिमाटी लगायत देशका अन्य ६ स्थानमा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरी अनुगमन कार्य भईरहेको छ ।