बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व आजभोलि विहानदेखि तरकारीबारीमा काम गर्न व्यस्त हुनुहुन्छ । अहिले उहाँ मात्र होइन त्यहाँका अतिविपन्न समुदायका १० महिला पनि उहाँसँगै तरकारी खेतीमा व्यस्त छन् ।
“सरकारले हामीलाई घर त बनाइदिएको छ तर गरी खाने अवस्था सहज थिएन, त्यसैले खान तथा घरखर्च चलाउनका लागि अहिले १० महिला मिलेर समूह बनाई तरकारीखेती शुरु गरेका छौँ”, शारदाले भन्नुभयो । समूहले स्थानीय व्यक्तिको दुई बिघा जमीन वार्षिक रु ३० हजारमा भाडामा लिएर प्रत्येक सदस्यले छुटछुटै तरकारीखेती गरेका छन् ।
“अहिले तरकारीको ‘सिजन’ हो तर हामीले उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजारमा लगेर विक्री गर्न सफल भयौँ र आम्दानी पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “अहिले खुशी छौँ, घरमा खर्च चलाउन पनि सजिलो भएको छ, अब तरकारीखेतीबाट राम्रो आम्दानी गर्न अझै मेहनत गर्छौँ, बेमौसमी तरकारीखेती पनि गर्छौँ ।”
समूहको अध्यक्षसमेत रहेकी गन्धर्वले केही उपकरण तथा मल बीउको अभाव रहेको बताउनुभयो । गाउँपालिकाले सहयोग गरे यसै पेशाबाट आत्मनिर्भर बन्न सफल हुने उहाँको भनाइ थियो । “यसअघि घरमा समय त्यत्तिकै बिताउथ्यौँ, कहिलेकाहीँ खोलामा गएर माछा मार्ने गरे पनि खान पुग्दैनथ्यो, अहिले तरकारीखेती गरेपछि खान पुगेको छ, घरको खर्च पनि चलेको छ”, उहाँले भन्नुभयो ।
त्यसैगरी सोही ठाउँकी ४५ वर्षीया वसन्ती गन्र्धवले पनि तरकारीखेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताउनुभयो । श्रीमान्ले सारङ्गी बजाएर ल्याएको अन्नले खानै पुग्दैनथ्यो भन्दै उहाँले आफुले भोगेका पीडा सुनाउनुभयो । अहिले भने सहज भएको तर उचित सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुनेगरेको उहाँले बताउनुभयो ।
त्यस्तै समूहमा तरकारीखेती गरेकी ४० वर्षीया गीता बादीले पनि तरकारीखेतीमा आफू आर्कषित भएको बताउनुभयो । उहाँले तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर विक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारीखेतीमा रम्न पाउँदा खुशी लागेको बताउनुभयो ।
“शुरुशुरुमा त बजारमा बसेर मकै पोलेर बेच्दा केहीले हेयको दृष्टिले हर्ने, ‘यो त बादी महिला हो खान हुँदैन’ भन्ने अपशब्द बोल्ने गर्थे तर पनि सहेर बस्थेँ”, उहाँले भन्नुभयो, “अहिले धेरै फरक भएको छ, सबैले सम्मान गर्दै बोल्छन् । हाम्रो समुदायमा धेरै परिर्वतन आएको छ, हामी आत्मसम्मानका साथ आआफना व्यवसायमा रमाउन पाएका छौँ ।”
समाजमा अतिविपन्न तथा पछिडिएको समुदायका महिलाले पछिल्लो समय तरकारीखेती गर्ने गरेका छन् । दाङका बादी र गन्धर्व समुदायका महिलाहरु तरकारीखेतीबाट मनग्य आम्दानी गरी आत्मनिर्भर हुन थालेका छन् । यसको पछिल्लो उदाहरण यहाँका यी महिलाहरुले गरेको खेतीले पुष्टि गरेको छ । यी महिलाले अहिले टमाटर, प्याज, भाण्टा, भिण्डी, काउली, धनियाँ, सागसब्जीलगायतका खेती गरेका छन् । उनीहरुले आईपिएम प्रविधिबाट तरकारीखेती गरिरहेका छन् ।
जिल्लाका अन्य थुप्रै ठाउँमा पनि विपन्न समुदायहरु तरकारीखेतीबाट आत्मनिर्भर हुँदै गएका छन् । विसं २०७५ देखि आफूहरूले यसरी सामूहिकरूपमा तरकारीखेती शुरु गरेको संस्थाका अध्यक्ष गन्धर्वले बताउनुभयो । उहाँले ईन्द्रेणी कृषि समूह गठन गरी तरकारीखेती शुरु गरेको जानकारी दिनुभयो ।
यसैबीच बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले महिलाहरुले गरेको तरकारीखेती देखेर आफू निकै प्रभावित भएको बताउनुभयो । उहाँले महिलाहरुलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउन आवश्यक पर्ने सिँचाइ, कृषि औजार, बीउ तथा मल लगायतका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाका सिँचाइ सुविधा पुगेका सबै वडामा कृषिको पकेट क्षेत्र बनाउने तयारी गरेको पनि जानकारी दिनुभयो ।