कृषिबालीमा नाफा हुने गरी मूल्य तोक्ने, नबिके सरकारले किनिदिने

५ चैत, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणा गर्नुभयो ।

बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताउनुभयो । सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताउनुभयो ।उहाँले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताउनुभयो ।

मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताउनुभयो । त्यस्तै सबै किसानले प्राविधिक सेवा पाउने ग्यारेन्टी गर्ने र स्थानीय तहमा कृषि तथा पशु प्राविधिकको खाली दरबन्दीमा तत्काल पदपूर्ति गर्ने पनि घोषणा गर्नुभएको हो । हाल स्थानीय तहमा करिब ६ हजार कृषि तथा पशु प्राविधिकको दरबन्दी खाली छ ।

मन्त्री भुसालले हरेक किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गर्नुभएको हो।उहाँले आफूले गरेको घोषणा आफ्नै लागि बन्धन भएको बताउनुभयो । ‘यो सबै योजना मैले आफ्नै टाउकोमा आगो लगाएको हुँ, आफैले आफैंलाई बाँधेको हुँ’ उहाँले भन्नुभयो ।

मन्त्री भुसालले आफ्नो नीतिले दलाल पुँजीबाद हावी रहेको कृषि क्षेत्रमा धक्का दिने बताउनुभयो । ‘दलाल पूँजीवाद कृषिमा छ्यापछ्याप्ती छ हाम्रो पाँच नीतिले यसलाई धक्का दिन्छ र मेरो प्रमुख ध्येय त्यही हो । धादिङमा कृषकले ५० रूपैयामा बेचेको काउली काठमाडौंमा १५० पर्ने संस्कार अन्य हुन्छ । उपभोक्ताले तिरेको मूल्य कृषककै हुनेछुु’ उहाँले भन्नुभयो ।

 वौद्धिक नेताका रुपमा परिचित नेकपा नेता घनश्याम भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेयता मौनता साँधेको आरोप लाग्दै आएको थियो । मन्त्री भुसालले यस अवधिमा आफूले देशको कृषिबारे अध्ययन गरिरहेको बताउँदै आउनुभएको थियो । उहाँले समय आएपछि बोल्छु भन्दै आउनुभएको थियो ।

अन्ततः बुधबार कृषि मन्त्रालयमा पत्रकार सम्मलेन गरेर मन्त्री भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नारासहित ५ नीतिगत आधारहरु अगाडि सार्नुभएको छ। उहाँले यसलाई ‘आफ्नै परीक्षा लिनका लागि अगाडि सारिएको’ बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here