गोलभेडाले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

सर्लाही – यस वर्ष गोलभेडाले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी भएका छन् । अघिल्ला वर्षमा जस्तो गोलभेडा नबिकेर सडकमा फाल्नुपर्ने अवस्था नरहेको किसानहरूले बताएका छन् ।

गोलभेडा उत्पादनका लागि देशमै प्रख्यात लालबन्दी बजारमा हिजोआज २५ किलोको एक क्रेट गोलभेडा तीन सयदेखि ३७५ रुपियाँसम्म बिक्री भइरहेको छ । अघिल्ला वर्षमा यही याममा किसानले उत्पादन गरेको गोलभेडा बिक्री नभएर खेतबारीमै कुहिने गरेको थियो ।

यो वर्ष भने गोलभेडा प्रतिकिलो १२ देखि १५ रुपियाँसम्म बेच्न पाउँदा फाइदा नै रहेको लालबन्दी नगरपालिका १२, जियाजोरका किसान बद्री बरालले बताउनुभयो । पोहोर परारको जस्तो यो साल गोलभेडा बेच्न समस्या भएन, बरालले भन्नुभयो, बजार ल्याउने बित्तिकै बिक्री भइरहेको छ । करिब एक बिघा खेतमा लगाएको गोलभेडा यस वर्ष राम्रै मूल्यमा बिक्री हुँदा बराल खुसी हुनुहुन्छ ।

अहिले उत्पादनको मुख्य सिजन भएकाले किसानले साइकल, मोटरसाइकल, गोरुगाडाजस्ता सवारीमा गोलभेडा बजार ल्याई बेचिरहेका छन् । गोलभेडा टिप्न लाग्ने खर्चसमेत नउठ्ने मूल्य हुँदा पोहोर दस कट्ठाको गोलभेडा त्यसै नष्ट भएको थियो तर यो पटक त्यस्तो भएन, अर्का किसान हरिव नगरपालिका १ अत्रौलीका दलबहादुर भुजेलले भन्नुभयो, मूल्य खासै धेरै नपाए पनि अहिलेकै मूल्यमा बेच्दा घाटा छैन् ।

यस वर्ष उत्पादन पनि कम भएको र भारतबाट गोलभेडा नआएकाले स्थानीय किसानले राम्रै मूल्य पाएका व्यापारी महम्मद उसमानले बताउनुभयो । यहाँको उत्पादन बजार नआउँदा शुरुशुरुमा भारतीय गोलभेडा बजारमा देखिएको थियो तर अहिले स्थानीय उत्पादन प्रशस्त आउन थालेपछि भारतीय गोलभेडा आएकै छैन, व्यापारी उसमानले भन्नुभयो, किसानले यस वर्ष गोलभेडाबाट घाटा व्यहोर्नु परेको छैन, हामी व्यापारीलाई पनि फाइदा नै छ ।

सर्लाहीमा उत्तरी भेगका लालबन्दी नगरपालिकाको हीरापुर, पत्थरकोट, जियाजोर, जब्दी, नवलपुर, रानीगञ्ज र हरिवन नगरपालिकाको सासापुर र अत्रौलीमा व्यावसायिक रूपमा गोलभेडा खेती हुने गरेको छ । यहाँ उत्पादन भएको गोलभेडा जनकपुर, विराटनगर, नारायणघाट, काठमाडौँलगायत देशका प्रमुख शहरहरूमा निर्यात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here