बझाङ । बझाङ जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा माछापालन सुरु गरिएको छ । परम्परागत रूपमा जिल्लाका सेती, बाउलीगाड, कालङ्गा, जडारीगाड, सुनीखोला, लाछ्याखोला, तल्कोटीगाडलगायतका नदी तथा खोलानालामा माछा मार्ने गरिएको यो जिल्लामा खप्तड छान्ना गाउँपालिकामा पहिलो पटक व्यावसायिक माछापालन सुरु भएको हो ।
यो व्यवसाय सफल भएपछि यहाँका किसान व्यावसायिक माछापालनतर्फ आर्कषित भएका छन् । गाउँघरका ससाना पोखरीमा पालन गर्दा माछाको वजन निकै राम्रो वृद्धि भएको यहाँका किसानले बताए । तीनवटा पोखरीबाट सुरु गरिएको माछापालनले उत्कृष्ट प्रतिफल दिन थालेपछि छान्ना क्षेत्रका धेरैजसो किसान माछापालन व्यवसाय गर्न उत्साहित भएका छन् ।