समृद्धिका लागि कृषकसँग मन्त्री कार्यक्रम

पोखरा – प्रदेश नं ४ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकका समस्या बुझी त्यसको समाधानमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘कृषकसँग मन्त्री कार्यक्रम’ अघि सारिएको बताउनुभएको छ ।

प्रेस क्लब पोखराद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले कृषिप्रतिको अनिच्छालाई कम गराउँदै यसलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कृषकसँग मन्त्री कार्यक्रमअन्तर्गत कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने उल्लेख गर्नुभयो ।

“कृषिको व्यावसायिकीकरणका माध्यमबाट यसतर्फ सर्वसाधारणलाई आकर्षित गरी बाँझो जमिनलाई उत्पादनमुखी बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “कृषिको विकासलाई लक्ष्य गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।” प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सभा सदस्य कुमार खड्काले प्रदेश नं ४ लाई पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने धारणा राख्दै रोजगारीको खोजीमा विदेशिएका युवालाई यही नै रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश नं ४ मा प्रकृति पदत्त स्रोत साधनको संरक्षण र विकास गर्दै त्यसैका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । प्रदेश सभा सदस्य हरिशरण आचार्यले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम प्रेस क्लब पोखराका अध्यक्ष श्रीकृष्ण पौडेलको अध्यक्षतामा भएको थियो ।