चितवन – राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम सुरु भएको छ ।
‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम सुरु भएको हो ।
राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम सुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।
चितवनको जगतपुरस्थित केरुङग मध्यवर्ती क्षेत्रको दुईवटा ठाउँ तथा नवलपुरको पिठैली र देवचुलीको तीनवटा ठाउँमा माछापोखरी निर्माण गरी स्थानीयवासी विपन्न समुदायलाई सहभागी गराउन थालिएको हो । यस क्षेत्रमा बोटे, माझी र मुसहर समुदायलाई केन्द्रित गरेर माछापालन कार्यक्रम सुरु गरिएको हो ।
चारवर्षे कार्यक्रमअन्तर्गत पहिलोचरणमा पाँच पोखरीका लागि सहयोग गरिएको र पछि अन्य क्षेत्रमा पनि पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञचालन गरिनेछ । विशेष गरी नदी छेउमा बस्ने स्थानीयवासी माछा मार्न नदीमा जान्छन् । सो क्रममा जाल अड्किएर गोही मर्ने र नदीमा माछासमेत घट्ने हुँदा वन्यजन्तु, चरा र जलचरलाई असर गर्ने भएकाले उक्त कार्यक्रम सुरु भएको हो ।
चारवर्षे कार्यक्रमअन्तर्गत स्थानीयवासीलाई स्वरोजगार बनाइ नदीमा आश्रय कम गर्नु यसको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो । पछिल्लो समयमा चितवन र नवलपरासीमा बोटे, माझी र मुसहर समुदायलाई सहभागी गराएर संरक्षण कार्य अघि बढाइएको छ । यहाँ उनीहरुलगायत चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका सदस्य सम्मिलित ‘घडियाल गार्ड ग्रुम’ गठन गरी संरक्षण अभियान थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिनुभयो ।
सो समूहलाई जिपिएस् र क्यामरासमेत दिएर घडियालको नियमित अनुगमनका लागि परिचालन गरिएको छ । पछिल्लो समयमा प्राकृतिक वासस्थामा घडियाल गोही लोप हुँदै गएको छ ।