प्रदेश ७ – कृषि खाद्य तथा पोषण परियोजनाले बझाङमा कृषक विनाको कृषि मेला प्रदर्शनी गरेको छ । शनिबार जालपा उमाविको प्राङ्गणमा सम्पन्न गरिएको कृषि मेला प्रदर्शनीमा कृषकहरुको उपस्थिति नरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले आ आफ्नो संघ संस्थाहरुका ब्यानर टाँगेर कृषकहरुले उत्पादन गरेका चिजहरुलाई प्रदर्शनीमा राखेका थिए । कृषि मेला प्रदर्शनीमा आफूले उत्पादन गरेका कृषिजन्य चिजहरु प्रदर्शनी गर्नु पर्ने भए पनि जिल्लामा रहेका संघ संस्थाहरुले आफ्नो कार्यक्रममा भएको बजेट सक्काउने तरीकाले कार्यक्रम गरेको मेलामा सहभागि कृषकले बताएका छन् ।
जिल्लामा झण्डै ६६ प्रतिशत किसानहरु कृषि पेशामा आबद्ध रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख रहे पनि जिल्लाको सदरमुकाममा नै कृषि मेला प्रदर्शनी गरे पनि कृषकहरुको सहभागिता नहुनु दुःखदायी कुरा भएको स्थानीय कृषक फुगे धामीले बताउनुभयो । कृषि मेला प्रदर्शनी भनेपछि कृषकहरुले नै उत्पादन गरेका चिजहरुलाई प्रदर्शनी गरिनु पर्ने, कृषकहरुलाई नै बढी भन्दा बढी सहभागिता गराउनु पर्ने हो । यहाँ त कृषि मेला प्रदर्शनी भने पनि जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुले नै आ–आफ्ना स्टलहरु निर्माण गरी आफ्नो संस्थाको विज्ञापन गराउन खोजेको रहेछ ।
वास्तविक किसानलाई कृषि मेला प्रदर्शनीका बारेमा जानकारीसम्म नै छैन । मेलामा संघ संस्थाहरु नजिक भएका किसानहरु सहभागि छन् धामीले भन्नुभयो । जुन संस्थाले जुन स्थानतर्फ काम गरि रहेका छन् उनीहरुलाई मात्रै जानकारी भयो । उनीहरुले उत्पादन गरेका चिजहरु संस्थाले आफ्नो स्टलमा राख्न भन्दै दबाब दिए । स्थानीय पदमराज उपाध्यायले भन्नुभयो ‘कुन किसानले राम्रो कृषिजन्य चिज उत्पादन गरेको छ भन्दा पनि कुन संघसंस्थाले कस्तो प्रगति गरेको छ भन्ने प्रतिस्पर्धा जस्तो देखियो ।’
मेला व्यवस्थापन तथा प्रदर्शनीका लागि सुआहाराबाट १० हजार, पहलबाट ५ हजार, महिला कल्याणबाट २० हजार, उद्योग वाणिज्य संघले मनोरञ्जनका लागि स्थानीय कलाकारहरुको जिम्मा लिएको जनाइएको छ । यस्तै जयपृथ्वी नगरपालिकाबाट ३० हजार, कृषि खाद्य तथा पोषण परियोजनाबाट ८० हजार र साइपाल विकास बाट १० हजार गरी जम्मा १ लाख ५५ हजार रुपैयाँ छुट्याइएको जनाइएको थियो ।