काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ करिब एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्दै शनिबार सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित उक्त मेलामा ३५ हजारभन्दा बढी पुष्पप्रेमी तथा सर्वसाधारणले अवलोकन गरेका छन् । तिहारको अवसर पारेर आयोजना गरिएको यस प्रदर्शनीले स्वदेशी नर्सरी व्यवसायको प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन् ।
मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार प्रदर्शनीमा अपेक्षा गरिएभन्दा बढी दर्शकको उपस्थिति रहेकाले नर्सरी व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ । एक्स्पोमा ६३ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्र र प्रतिस्पर्धाका स्टलहरू गरी कुल ७३ वटा स्टल राखिएका थिए । प्रदर्शनीमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवाहरू, फलफूलका बिरुवा, जडिबुटी र कृषिजन्य नर्सरीका उत्पादनहरू बिक्री तथा प्रदर्शनका लागि राखिएको थियो ।
नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले नेपालको भौगोलिक विविधता अनुसार पुष्प र कृषिजन्य नर्सरी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन यस्ता मेलाहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले परनिर्भरता हटाउँदै स्वरोजगार सिर्जना गर्न संघले आगामी दिनमा राजधानी बाहेक अन्य प्रदेशहरूमा पनि यस्ता प्रदर्शनी विस्तार गर्ने योजना रहेको बताउनुभयो । नर्सरी व्यवसायलाई व्यावसायिक बनाउन र किसानलाई बजारसँग जोड्न संघले निरन्तर पहल गरिरहेको उहाँको भनाइ थियो ।
नर्सरी व्यवसायी संघले नेपाली उत्पादनको प्रवर्द्धनका लागि वर्षमा दुई पटक ठूला मेलाहरू आयोजना गर्दै आएको छ । तिहारलाई लक्षित गरी आयोजना गरिने ‘तिहार फ्लोरा एक्स्पो’ र चैत महिनामा हुने ‘नेशनल हर्टिकल्चर एक्स्पो’ ले स्वदेशी नर्सरी उद्योगको विकासमा टेवा पुर्याउँदै आएका छन् । यस्ता कार्यक्रमले आधुनिक कृषि प्रविधि र नयाँ प्रजातिका बिरुवाहरूबारे सर्वसाधारणलाई जानकारी दिनुका साथै सहरी क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने देखिएको छ ।

