काठमाडौं,
चैत ९ – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले अलैंचीको गुणात्मक विकास लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बतानुभयो ।
राजधानीमा अलैंचीको विकासका लागि स्वायत्त निकाय स्थापनाका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै मन्त्री खनालले अलैंची विकास बोर्ड स्थापनाका निम्ति पहल गर्ने बताउनुभएको हो । ‘अलैंची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषदमा लैजान पहल गर्छु ।’ उहाँले भन्नुभयो ।
यसअघि गठन भएका विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउनुहुँदै मन्त्री खनालले अलैंची खेतीको लागि जमिनको पहिचान गर्दै अलैंची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।
अलैंची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’