काठमाडौं, चैत १६ –
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर सरकार बनेको १ सय ६० दिनभित्रमा १ सय १० वटा काम गर्ने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलनमा मन्त्रालयको तर्फवाट उक्त प्रतिवद्धता जाहेर गर्नुभएको हो ।
राष्ट्रिय गौरवका ५ ठूला आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै गौतम वुद्ध विमानस्थलको ४० प्रतिशत निर्माण कार्य पुरा गर्ने, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको कन्सलटेन्ट नियुक्त गर्ने प्रतिवद्धता पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । तर प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलवारे मन्त्रीले केही पनि उल्लेख गर्नुभएन ।
आगामी बैशाख १५ देखि १७ गते लुम्विनी बिकास क्षेत्रमा २५ देशका वौद्ध भिक्षुहरु उपस्थित गराई वौद्ध सम्मेलन र महाउत्सवको आयोजना गर्ने तथा पशुपति क्षेत्रमा वागमति जात्रा र अक्षय तृतिया पर्व पुन शुरु गर्ने उल्लेख गरिएको छ । प्रतिवद्धता पत्रमा नुवकोटको तिर्थस्थल साली नदी र गोरु जुधाईको डकुमेन्ट्री बनाउनेसम्मका कुरा समेटिएका छन् ।
त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारका लागि एयर ट्राफिक जाम घटाउने, काभ्रेको ठुलीचौरमा आन्तरिक विमानस्थल बनाउन सम्भाव्यता अध्ययन, लगेज चोरी सुरक्षा देखि हवाई दुर्घटना न्यूनिकरणका लागि गरिने सुरक्षाका उपायहरु समेत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
नेपालको कूल अर्थतन्त्रमा २५ प्रतिशत योगदान पर्यटन उद्योगवाट पु¥याउने लक्ष्य सहित सन् २०२० सम्ममा १५ लाख पर्यटक देशमा भित्र्याउने योजनालाई पनि गति दिने मन्त्री अधिकारीले दाबी गर्नुभयो । पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री अधिकारीले रानी पोखरीको ऐतिहासिक मन्दिर र धरहरा पुरानै शैलीको प्रारुपमा तयार हुने बताउनुभयो ।
प्रतिवद्धता पत्रमा सय दिनमा एक सय १० वटा काम मात्र गर्ने भनिएको छैन ती कामहरु योजना र समयतालिका अनुसार अगाडी बढे नबढेको प्रभावकारी अनुगमन गर्ने संयन्त्र समेत खडा गरिएको र उल्लेखित प्रत्येक कामका लागि जवाफदेही हुने अधिकारी तोकिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । यो प्रतिवद्धता पत्र मात्र मन्त्रीको जिद्दी र लहडवाट आएको होईन , मन्त्रालयमा गहन छलफल र गृहकार्य गरी गर्न सकिने कामहरुलाई मात्र समावेश गरिएकोले काम पूरा गर्न नसक्ने कर्मचारीलाई कारवाही गरिने समेत उहाँले बताउनुभयो ।
सय दिनमा मन्त्रालयले फेरी पत्रकार सम्मेलन गरेर प्रतिवद्धता अनुसारका कति काम सम्पन्न भयो त्यसको जानकारी दिने पनि मन्त्री अधिकारीको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा राज्य मन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव कृष्ण देवकोटा तथा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति थियो ।