भारतबाट निर्यात हुने कुखुरा, अण्डा रोक्न माग

विराटनगर, चैत २४ –

सीमापार भारतीय बजारबाट कुखुरा र अण्डा भित्रिने क्रम नरोकिँदा नेपालमा उत्पादित मासु तथा अण्डाले मूल्य नपाएकोे किसानले गुनासो गरेका छन् । खुल्ला सिमानाका कारण मोरङ, सुनसरी तथा झापामा भारतबाट अण्डा तथा कुखुरा भित्रिने गरेका कारण नेपालको उत्पादन विस्थापित हुने खतरामा पुगेको किसानले गुनासो गरेका हुन् ।

नेपालका कुखुरा पालक किसानले उत्पादन गरेको अण्डा र कुखुराको मूल्य भारतमाभन्दा बढी छ । भारतीय बजारमा अण्डा तथा कुखुराको मूल्य नेपाली बजारभन्दा न्यून भएका कारण व्यापारीमार्फत नेपाल भित्रिने गरेको छ । सीमा नाकामा कडाइ नहुँदा यसरी भित्रिने अण्डा तथा कुखुराले नेपालमा उत्पादित अण्डालाई विस्थापित गर्नसक्ने कुखुरा पालेर अण्डा उत्पादन गर्दै आएका किसान बताउँछन् ।

नेपालमा कुखुरालाई खुवाउने दानाको मूल्य प्रतिबोरा दुई हजार २७५ पर्दछ । कुखुरालाई खुवाउने एक बोरा दानाको मूल्य र एक कार्टुन अण्डाको मूल्यको फरक ४७५ रुपियाँ हुने गरेको छ । अहिले नेपालमा अण्डा प्रतिकार्टुन एक हजार आठ सय रुपियाँमा बिक्री हुँदै आएको अण्डा उत्पादक सङ्घका अध्यक्ष माधव पराजुलीले बताउनुभयो ।

महँगो दानाका कारण अण्डाको मूल्यसमेत महँगो नै पर्ने हुँदा भारतीय अण्डाले नेपाली बजार विस्तारै कब्जा जमाउँदै गएको उहाँले बताउनुभयो । सरकारले एक कार्टुन अण्डाको मूल्य र एक बोरा दानाको मूल्यलाई बराबरीको अवस्थामा समायोजन गराउन सहयोग गरिदिए नेपालमा उत्पादन भएको कुखुरा तथा अण्डा भारतीय बजारबाट भित्रिएको अण्डाको मूल्यका लागि प्रतिस्पर्धी बन्न सक्ने अर्का व्यवसायी भरत कार्कीले बताउनुभयो ।

अण्डा र दानाको मूल्यलाई समायोजन गरेसँगै भारतबाट अवैध रूपमा भित्रने कुखुरा तथा अण्डामा कडाइ गरेर रोक लगाइदिन व्यवसायीहरूले प्रदेश सरकारसँग मागसमेत गरेका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घले सीमा क्षेत्रबाट भित्रिने अण्डा आयातमा कडाइ तथा प्रतिबन्ध लगाइदिनसमेत प्रदेश सरकारसँग माग गरेको छ । विभिन्न ८ बुँदा समेटिएको मागपत्र मुख्यमन्त्री शेरधन राईलाई बुझाउँदै सङ्घले सीमा नाकामा कडाइ र भारतीय कुखुरा तथा अण्डा अवैध आयातमा रोक, दाना र अण्डाको मूल्य समायोजन हुने गरी निर्धारण, महामारीबाट कुखुरामा पुग्दै आएको क्षति न्यूनीकरणका लागि बीमा सुविधा, पुशपक्षी पालक किसानलाई अनुदान तथा सहुलियत ऋणको व्यवस्था मिलाइदिन ध्यानाकर्षण गराएका छन् ।
यसैगरी पशु विशेषज्ञसहितको परीक्षण केन्द्र र सुविधा उपलब्ध गराउनसमेत माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here