गाईभैंसी सुत्केरी हुँदा पनि भत्ता पाइने

सल्यान, वैशाख २९ –

सुत्केरीभत्ता भनेपछि विशेषगरी महिला गर्भवती भएपछि पोषणबापत स्वास्थ्य संस्थाबाट दिइने रकम बुुझिन्छ । तर सल्यानमा महिलालाई मात्र होइन, गाईभैंसीलाई समेत सुत्केरीबापतको पोषण उपलब्ध गराउने गरिएको छ ।

सल्यानमा पहिलो पटक शारदा नगरपालिकाले यस्तो व्यवस्था गरेको हो । गाई र भैंसीको उत्पादकत्व बढाउने उद्देश्यले कृत्रिम गर्भधारण गराउने कृषकलाई चौपायाको पोषणबापत रकम प्रदान गर्ने गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

पहिलो चरणमा २५ जना कृषकलाई पोषण भत्ता उपलब्ध गराउने लक्ष्य लिइएको छ । त्यसमध्ये नगरपालिकाले हालसम्म १० जना कृषकलाई २ हजार ५ सय रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । यसबाट कृषक उत्साहित छन् ।

खलंगामा व्यावसायिक कृषि फर्म सञ्चालन गरिरहेका कृषक कृष्णराज उपाध्यायले आफूले दुईवटा गाईको ईआईए (कृत्रिम गर्भधारण) गराएको र नगरपालिकाबाट पाँच हजार रुपैयाँ पाएको बताउनुभयो । ‘नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न लागू गरेको भत्ता कार्यक्रमले म जस्तो किसानलाई सहयोग मिलेको छ’, उनले भने, ‘शारदा नगरपालिकामा मात्र होइन, देशैभर यस्तो व्यवस्था भए कृषक थप उत्सहित हुने थिए ।’

कृत्रिम गर्भाधानबाट जन्मिएका गाई वा भैंसीले सामान्य गाईको तुुलनामा आठ गुनासम्म बढी दूध दिने भएकाले कृषकको फाइदाको लागि यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्णसिंह ठकुरीले जानकारी दिनुभयो ।

‘कृत्रिम गर्भाधान गराई उत्पादकत्व बढाउने कार्यक्रममा सहभागी कृषकलाई यस्तो सहायता प्रदान गर्ने गरिएको हो’, उनले भने, ‘भत्ताबाहेक प्राविधिक सहयोग र परामर्श दिने गरिएको छ ।’ शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले कृषकको आर्थिक विकासलाई यस प्रकारका कार्यक्रमले सघाएको प्रतिक्रिया दिए । ‘दुई हजार पाँच सयले कृषकलाई हुने त केही होइन, तर यो सेवाप्रति आकर्षण बढोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘गाईभैंसीलाई पोषण भत्ता दिन थालेपछि कृषक उत्साहित छन् ।’

पशु विकास बोर्डको कार्यक्रमअनुसार सल्यानमा लागू गरिएको पशु सुत्केरी भत्ता वा पोषण भत्ता अन्य जिल्लामा पनि लागू गर्न सके किसान लाभान्वित हुुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here