काठमाडौं, वैशाख ३१ –
राष्ट्रियसभाका सदस्यहरुले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि विशेष कार्ययोजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाद्धारा प्रस्तुत विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले मुलुक आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण अत्यावश्यक भएको बताएका हुन् ।
बैठकमा नेपाली कांग्रेसकी विन्दा देवी आले रानाले बालबालिका, महिला र अपाङगता भएका व्यक्ति लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा नपरेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
श्वेत पत्रको आधारमा राज्य नभएको भन्दै महिलालाई विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गर्न पनि आलेले सुझाव दिनुभयो । त्यसैगरी नेपाली कांग्रेसकी सरिता प्रसाईले कृषिमा आधुनिकीकरण नगरेसम्म मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुन नसक्ने बताउँदै कृषिमा सरल कर्जा प्रवाहको व्यवस्था गरिनुपर्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । मुलुकलाई अन्नमा आत्मनिर्भर बनाउनका लागि सरकारले दीर्घकालिन र अल्पकालिन योजनामा बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।