भारतीय पाउडर दुधको प्रभाव, कृषकको दुध बिक्रि हुनै छाड्यो

चितवन, जेठ ७ –  दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गर्ने निजी डेरीले पछिल्लो समय दुध खरिद नगरेका कारण कृषकहरु समस्यामा परेका हुन् ।

भारतबाट आउने पाउडर दुधको प्रभावका कारण नेपाली दुधको विक्री कम हुँदै गएको कृषकहरुले बताएका छन् । निजी डेरी उद्योगले कृषकहरुको दुध संकलन हुने दुग्ध सहकारीबाट दुध लैजान कमी गरेको र लगे पनि भुक्तानी दिन ढिलाई भइरहेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेतीले बताउनुभयो ।

डेरीमा संकलन भएका दुध फिर्ता गर्नुपर्ने अवस्था आएको बताउँदै उहाँले १५ दिनको फरकमा आउने पैसा ६ महिनासम्म ढिला हुने गरेको बताउनुभयो । डेरी उद्योगले कृषकको दुध संकलन हुने सहकारीमा ३ लाखदेखि ८० लाखसम्म भुक्तानी रोकिएको छ । ‘मिल्क होलीडे’ समेत हुन सक्ने उप्रेतीले बताउनुभयो ।

२०६० साल अगाडि हप्तामा ५ दिनसम्म मिल्क होलीडे हुने गरेको थियो । त्यसपछि भने मिल्क होलीडे नभएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले बताउनुभयो । अहिले दुधको बजारीकरणमा देखिएको समस्या सामधान नभए भदौबाट मिल्क होलिडे सुरू हुने उहाँले बताउनुभयो ।

डेरी उद्योगहरुले चितवनका केही दुग्ध उत्पादक सहकारी संस्थालाई भदौ महिनादेखि दुध उठाउन नसक्ने भन्दै पत्र पठाएको छ । तत्काल समस्या समाधान नभए भदौ महिनाबाट हप्तामा ३ दिनसम्म मिल्क होलीडे हुन सक्ने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भगिरथ तिमिल्सिनाले बताउनुभयो ।

भारतबाट आउने कच्चा दुध र पाउडर दुधका कारण नेपाली किसानको दुध विक्री नभएको बताउदै उहाँले सरकारले भारतबाट आउने दुध रोक्न सक्नुपर्ने बताउनुभयो । डेरी उद्योगहरुले दुधको भुक्तानी रोकेर किसानलाई पशुपालनमा निरुत्साहित बनाएको उहाँले बताउनुभयो ।

दुध उत्पादन गर्ने कृषकले सहकारीमार्फत दुध संकलन गरेका हुन्छन् । चितवनका दुग्ध उत्पादक सहकारी संस्थाबाट निजी डेरी उद्योगहरु सीताराम डेरी उद्योग, खरिपाटी डेरी उद्योग, आधुनिक डेरी उद्योग, तुलसा डेरी उद्योग, राजधानी डेरी उद्योग, सुजल डेरी उद्योग, एचडी आई डेरी उद्योग र सरकारी दुग्ध विकास संस्थान ९डिडिसी० ले दुध खरिद गर्दै आएको छ ।

चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन हुन्छ । जिल्लामा १ सय ५५ वटा दुग्ध उत्पादक सहकारी संस्थाले किसानको दुध किनेर डेरी उद्योगहरुलाई विक्री गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here