बंगुरले भिषा रोके पछि……….

रुकुम, जेठ १४ –  बाँफिकोट गाउँपालिका १ का २८ वर्षे रामबहादुर केसी ४ वर्ष मलेसियामा रोजगारी गरेर फर्कनुभयो । फर्कंदा उहाँ फेरि विदेश जाने योजना बनाएर उहाँ मलेसियाबाट फर्कनु भएको थियो ।

आफूले काम गर्ने कम्पनीमा नै फेरि जाने भएर उहाँ छुट्टी मात्रै लिएर नेपाल आउनु भएको थियो । मलेसियाको बसाई, काम र कमाई ठिकठिकै भएकाले उहाँले विदेश नै जाने योजना बनाउनु भएको थियो । तर रामबहादुरको मलेसिया यात्रा बंगुरपालनले छेकिदियो । छुट्टी सकिएपनि उहाँ मलेसिया फर्कनु भएन ।

विदेशमा गरिने मेहनत र लगानी गर्ने होे भने स्वदेशमै केही गर्न सकिन्छ भनेर उहाँ बंगुरपालनमा जुट्नु भएको छ । ‘मेहनत गर्न सक्ने हो भने यही धेरै गर्न सकिन्छ भन्ने लाग्छ,’ रामबहादुरले भन्नुभयो, ‘धेरै गर्ने आशा सहित काम थालेको छु ।’

बंगुरपालन थालेपछि उहाँले परम्परागत खोरमा उत्पादन गरेका २२ वटा बंगुर बिक्री गरी सक्नुभएको छ । त्यसबाट राम्रै आम्दानी गरेका उहाँले बंगुरपालन बढाउने गरी १० वटा माउ बंगुर पाल्ने गरी आधुनिक खोर पनि निर्माण गर्नुभएको छ ।

‘मैले व्यावसायिक बंगुरपालनका लागि आधुनिक खोर निर्माण गरेको छु, त्यसबाट परम्परागत खोरबाट भन्दा बढी आम्दानी हुने अपेक्षा गरेको छु,’ उहाँले आफ्नो योजना सुनाउँदै भन्नुभयो, ‘आँगनमै रहेको आत्मनिर्भरताको बाटो बिर्सेर विदेशिएको रहेछु, अब बंगुरपालनलाई व्यावसायिक बनाउने योजनामा छु ।’

परम्परागत खोरमा बंगुर पालेका उहाँसँग अहिले १८ वटा बंगुर छन् । यसअघिको बंगुरपालनको अनुभवको आधारमा आधुनिक खोर निर्माण र व्यावसायिक रुपमा जाने योजना उहाँले बनाउनु भएको हो । ‘यसअघि परम्परागत तरिकाले बंगुर पाल्दा पनि वर्षमा सवा लाख कमाई भयो, यसलाई व्यवस्थित गराउन सके थप कमाई हुने भएकाले म यतापट्टि लागेको हुँ‘ उहाँले भन्नुभयो ।

दाङबाट आएका व्यापारीले एक लाख १५ हजार रुपैयाँमा बंगुर लिइदिएपछि रामबहादुर थप हौसिनु भएको हो । उहाँले बंगुर सँगसँगै माछा र कुखुरापालनलाई पनि अघि बढाउने योजना बनाउनु भएको छ ।

आधुनिक खोरबाट बंगुरको पहिलो उत्पादन लिइसकेपछि माछा र त्यसपछि कुखुराको व्यावसायिक पालन थाल्ने योजनामा रामबहादुर हुनुहुन्छ । दाङको बजारलाई लक्षित गरेर बंगुर, माछा र कुखुरा पाल्ने योजना बनाएको उहाँले बताउनुभयो । माछा र कुखुरापालनको लागि जग्गाको व्यवस्थापन गर्न रामबहादुर अहिले लागि पर्नुभएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here