कृषि मन्त्रीको छड्के अनुगमनमा कालिमाटी बजारमा जे देखियो

काठमाडौं –  कृषि, भूमि व्यवस्था तथा शहकारी मन्त्री चक्रपाणी खनालले कालिमाटी फलफूल तथा तरकारी बजारको छडके अनुगमन गरेपछि राखेको धारणा उहाँकै शब्दमा  :

कालिमाटीमा रहेको पसलहरुको बारेमा धेरै गुनासा र निवेदन म कहाँ आए । त्यसलाई मन्त्रालयले सुक्षम अध्ययन गर्यो । उत्पादन गर्ने कृषक र उपभोत्ताबीच धेरै अन्तर भेटियो । किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको देखिन्छ । ३/४ वटा तह पार गर्नु परेको देखियो ।

बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको स्पेस भाडामा लिएर ८ देखि १० हजार रुपैयाँ मात्र समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म लिने गरेको अनुगमनको क्रममा पाइयो । ढाँट्नलाई अनेक प्रयत्न गरेको पाइयो । एउटा व्यक्तिले १५ वर्षसम्म बस्न पाउने कार्यविधि छ । अब त्यो खारेज हुन्छ । नयाँ कार्यविधि बनाइन्छ । कालिमाटीमा बस्न चाहनेलाई गोला प्रथाद्धारा ठाउँ उपलब्ध गराइन्छ । पहिलेदेखि बसिरहेकालाई हटाउने चाहना होइन । तर नयाँ कार्यविधि पालना गरेर मात्र बस्न दिइने व्यवस्था गरिन्छ ।

किसानलाई मर्कामा पार्दैनौं । बीचमा हुने चलखेल अन्त्य गर्न अनुगमनबाट शुरु गरेका छौं । मन्त्रालयले आफ्नो दायित्व पूरा गर्छ र एउटा विधि बनाउँछ । त्यो पालना गर्नेलाई मात्र बस्न दिइन्छ अरुलाई हटाइन्छ । माापदण्ड पूरा नगर्नेलाई पसल दिइदैन ।

अर्को कालिमाटी बजारमा माछा खान लायक नभएको पाइयो । झिंगा भन्केका छन् । त्यसलाई यही हालतमा राखिन्दैन । त्यसलाई भत्काइन्छ । बाधा उत्पन्न गर्न खोज्ने कसैलाई छोडिदैन । राज्यलाई कमजोर बनाउनेलाई छोडिदैन । एकछिनलाई प्रचार गर्न र तमासा देखाउन अनुगमन गरेको लाग्ला त्यसरी अनुगमन गरिएको होइन ।

कालिमाटी काठमाडौंको आवश्यकता पूरा गर्ने गरी बजार निर्माण गरिन्छ । नत्र बजार अन्तै सारिन्छ । अहिले विभिन्न १० नाकाहरुबाट बजार निर्माण गर्ने गरी स्थानहरुको अध्ययन हुदैछ । मन्त्रालय छलफलमा जुटेको छ । ती नाकाहरुमा किसानको उत्पादन सिधै आउने गरी व्यवस्थित बजार निर्माण गरिन्छ । विचौलियाको अन्त्य हुन्छ । कालीमाटीमा जो स्टल लिएर अरुलाई भाडामा लगाएर आफु अन्तै बसेका छन् , त्यस्ताको स्टल तुरुन्तै खारेज गरिन्छ र बजारलाई नयाँ ढंगले अघि बढाइनेछ ।

तरकारी उत्पादन गर्ने किसानद्वारा सरकारले प्रतिवन्ध लगाएको विषादी प्रयोग गरेको छ भने त्यसलाई तत्काल अनुगमन गरी कारर्वाही गरिन्छ । सरकारले जुन विषादी प्रयोग गर्न अनुमति दिएको छ त्यसलाई क्रमसः कम गर्दै लगिन्छ । विकृतिको पोको धेरै ठाउँमा छ ।

कालीमाटी बजारमा एउटा कोल्डस्टोर तत्काल खाँचो छ । पसलको आकार प्रकारमा पनि हेरफेर गरिन्छ । त्यासो गरे माछाको हालत सुघ्रिनेछ । त्यसका लागि सरकारले पहल गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here