झापा, असार ९ –
झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी नगरलाई विषादीमुक्त बनाउने अभियानमा सक्रिय हुनुहुन्छ । मेयर शिवाकोटी पछिल्लो समय ‘अर्गानिक मेयर’का नामले चर्चामा हुनुहुन्छ ।
राजनीतिसँगै व्यवसायमा लाग्नुभएका मेयर शिवाकोटीले दुई वर्षयता आफ्नै लगानीमा बिर्तामोडस्थित १० बिघा क्षेत्रफलमा माछा पाल्नुभएको छ । ‘हेभन वाटर पार्क’ नाम गरेको यस क्षेत्रमा ११ वटा माछा पोखरी छन् । मेयर शिवाकोटीले माछा पोखरीमा हालसम्म २२ करोड रुपैयाँ लगानी गरिसक्नुभएको छ । पोखरीमा सिवाकोटीले पंगासिस जातका माछा पाल्नुभएको छ । पोखरीबाट सुरुमा मुस्किलले दिनको २० किलो बिक्ने माछा अहिले दैनिक सरदर ८ सय किलो बिक्री हुन्छ । यहाँ उत्पादन भएको माछा एक नम्बर प्रदेशभरी खपत हुने गरेको छ ।
भारतबाट विषादीयुक्त माछा आयात भएको देखेपछि मेयर शिवाकोटीले अर्गानिक माछा उत्पादन सुरु गर्नुभएको हो । मेयरको उत्पादन गाडीमा हालेर उपभोक्ताका घर–घरमै पु¥याइन्छ । सुरुमा १ बिघा १७ कट्ठामा माछा लगाउनुभएका सिवाकोटीले उत्पादन राम्रो भएपछि क्षेत्रफल बढाएर १० बिघामा पंगाइसिस जातको माछा पाल्नु भएको हो । स्वदेशमै उत्पादन बढाउन सके बाहिरबाट आउने उत्पादनको बिक्री स्वतः कम हुने मेयर सिवाकोटीको विस्वास छ ।
पोखरीमा भुरा छोडेको चार महिनापछि माछा निकालेर बिक्री गरिन्छ । एउटा माछाको तौल ४ सयदेखि ६ सय ग्रामसम्म हुन्छ । भारतबाट आयात गरिएको माछामा घातक विषादी प्रयोग गरेको आफैँले देखेपछि मेयर शिवाकोटी अर्गानिक माछापालनमा लाग्नुभएको हो ।