कालिमाटी बजार हटाइदिने कृषिमन्त्रीको चेतावनी

काठमाडौं –कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी दिनुभएको छ । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उहाँनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पार्नुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो, ‘भदौसम्मपनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिईएको छ, त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाईन्छ ।’

साक्षात्कारमा मन्त्री खनालले कालिमाटी फलफुल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढि लिईएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाईकन दशौं गुणा बढि पैसा लिएर अरुलाई चलाउन दिईएको भेटियो, दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो, समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु।’ कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरु समेत राखिएको उहाँको गुनासो छ ।

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो,‘अहिले त धेरै लेयरहरु देखिएका छन्, ती सबै तोड्न जरुरी छ, ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु।’

खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भन्नुभयो, ‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परिक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुैन मात्रामा सोडा पाईएको छ, तर धेरैजस्तो दुधमा दुध नफाटोस भनेरमात्रै सोडा प्रयोग गरेको पाईयो, अब त्यसो पनि गर्नुभएन, उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमा समेत कोलिफार्म भेटिएको उहाँको भनाई थियो ।

उहाँले पानीमा देखिएको खराबीमा आफूहरुले दिएको निश्चित् समयसिमाभित्र पनि सुधार नगरे बाध्य भएर पानी उद्योगमा तालाबन्दी गर्ने पनि चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here