चितवन, असार २३ – दुई महिना अगाडि चितवनको कालिका नगरपालिकाको नयाँ टोलमा केरा फडानी गर्ने व्यक्तिहरुलाई कारागार चलान गरिएको छ ।
कालिका नगरपालिकाको वडा नम्बर ६ मा लगाइएको १२ जना किसानको केरा खेतीमा वैशाख १७ गते राति उनीहरुले फडानी गरेका थिए । केरा फडानी गरेको अभियोगमा प्रहरीले सात जनामाथी मुद्दा चलाएकोमा छ जनाको मुद्दा फैसला भएर कारागार चलान गरिएको हो ।
उक्त घटजनामा संलग्न एक जना व्यक्ति अझै फरार रहेको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ गरेका सबैलाई जिल्ला प्रशासन कार्यालय चितवनले जनही दुई लाख २५ हजार रुपैयाँका दरले धरौटी बुझाउन आदेश दिएकोमा धरौटी बुझाउन नसक्दा छ जनालाई नै कारागार चलान गरिएको हो ।
केरा फडानी हुँदा किसानहरुको करिब १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।