झापा – झापाका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् ।
न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् ।
नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले आन्दोलन गर्ने जनाएको छ ।
सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक २७८ बाट वृद्धि गरी ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए ।
चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । ‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो’, उनले भने ।
अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताउँछिन् । अखिल नेपाल चिया मजदूर संघ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताए । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कार्वाही गर्नुपर्ने उनको माग छ ।