पर्सा – प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।
पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा किसानले गहुँ खेती गर्दै आइरहेको र यसको लागि ८४ मेट्रिक टन बीउ मात्र उपलब्ध भएको थियो । उक्त बीउ वितरण भइसकेको छ । केन्द्रका प्रमुख डा यादवले राससलाई भन्नुभयो, “पर्साको लागि अब तीन हजार मेट्रिक टन बीउको आवश्यकता रहेकाले बाँकी बीउ चाँडै आउने सम्भावना छ ।” प्रदेश नं २ को सरकारको निर्णयअनुसार किसानलाई ४० प्रतिशत अनुदानमा सात वटा डिलरमार्फत बीउ वितरण गरेको छ । डिलरले बीउमा कालोबजारी नगरोस् भनेर कृषि प्राविधिकको रोहबरमा बीउ वितरण गरिएको छ ।
प्रतिकिलो ६५ रुपैयाँ ५० पैसा पर्ने बीउमा ४० प्रतिशत अनुदान दिएर किसानलाई प्रतिकिलो ४३ रुपैयाँ ५५ पैसामा वितरण गरिएको छ । केन्द्रको सिफारिशमा डिलरले राष्ट्रिय बीउबिजन कम्पनी हेटाँैडाबाट उन्नत जातको बीउ ल्याएर वितरण गर्ने गरेको छ ।
किसानको सुविधालाई ध्यानमा राखी केन्द्रले सदरमुकाम वीरगञ्जको तीन ठाउँ र ग्रामीण क्षेत्रका पोखरीया, महुवन, सेढवा र बिरुवागुठीमा डिलरमार्फत सो बीउ वितरण गर्दै आइरहेको छ । हाल अनुदानको गहुँको बीउ अभाव भएपछि गहुँ खेती गर्ने किसानले बजारमा पाइने बीउ खरीद गरी खेती गर्न बाध्य भएका छन् ।