भारतकाे उखुले नेपाली किसान मर्कामा

सर्लाही – भारतीय उखु नेपाल भित्रिएपछि सर्लाहीका उखु किसानको खेतमा उखु सुक्न थालेको छ । सर्लाहीको सीमा नजिक भारतीय गाउँका किसानले टायरगाडा ट्याक्टरमा ल्याएको उखु बिचैलीयामार्फत नेपालका चिनी कारखानामा बिक्री हुने गरेको छ ।

नेपालको चिनी उद्योगसँगको मिलेमतोमा बिचैलीयाहरुले सस्तो मूल्यमा भारतीय उखु खरिद गर्न थालेपपछि आफूहरुको उखु खेतमा सुक्न थालेको हरीपुर १ का किसान नेवालाल महतोले गुनासो गर्नुभयो ।

नेपालकोभन्दा भारतीय उखु सस्तो भएकाले नेपाल भारत सीमा क्षेत्रमा अहिले ५० भन्दा बढी उखु तौल केन्द्र राखिएको छ । भारतीय किसानको उखु बिचैलियाहरुले प्रति क्युन्टल २६० देखि ३ सय रुपैयाँसम्म खरिद गरेर नेपालका चिनी कारखानालार्इ बिक्री गर्ने गरेको बलराका उखु किसान हरेन्द्र महतोले बताउनुभयो ।

भारतीय किसानसँग सस्तो दरमा खरिद गरेको उखु नेपालको चिनी उद्योगमा ल्याएर ५ सय ३१ रुपैयाँ २० पैसामा बिक्री गर्ने गरेका छन् । भारतमा उत्पादित उखु ग्रेडिङ हुने र राम्रो उखु प्रति क्युन्टल ३ सय २० रुपैयाँ, सामान्य उखु २ सय ८० रुपैयाँ र तेस्रो तहको उखु २ सय ४० रुपैयाँका दरले  रिगा मिलले खरिद गर्ने गरेको भारतीय कसानहरुले बताएका छन् ।

बिचैलियाले भारतमा सबैभन्दा सस्तो मूल्यमा पाइने २ सय ४० रुपैयाँको उखु मात्र खरिद गर्ने गरेका छन् । नेपालको तुलनामा भारतीय उखु सस्तो हुने भएकाले नेपालका चिनी उद्योगसँगको मिलेमतोमा बिचैलियाले भारतीय किसानको उखु गरिद गर्ने गरेको नेपाल उखुउत्पादक महासंघका राष्ट्रिय अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।

भारतसँग सीमा जोडिएको सर्लाहीको मधुवनीगोठ, बलरा, भँडसरलगायतका सीमा नजिकका गाँउबाट अहिले दैनिक भारतीय किसानको उखु तौल हुने गरेको छ । यसरी भारतीय किसानको उखु नेपालमा सहजै भित्रिदाँ नेपाली किसानले भने लागत अनुसारको उखुको मूल्य पाउनबाट समेत बञ्चित भएका छन् । भारतमा सरकारले किसानलार्इ दिएको कृषि अनुदनको कारण पनि नेपालमाभन्दा भारतमा कृषि उपज सस्तो हुने गरेको छ ।

भारतीय उखु उत्याधिक मात्रामा नेपालको चिनी कारखानामा आएपछि सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले क्रसिङ गर्न नस्कदा पूर्व(पश्चिम राजमार्ग अवरुद भएको छ । क्रसिङ क्षमताभन्दा बढी उखु मिलमा अएकोले क्रसिङ नहुँदा यस्तो समस्या देखिएको हो । उखु बोकेर मिल गेटमा आएका अधिकाँश टायरगाडा, ट्याक्टर, ट्रक राजमार्गमा रोकिएपछि आवत(जावतमा समेत समस्या देखिएको छ ।

भारतीय उखुको कारण नेपाली किसानको उखु मिल गेटमा रोकिदाचार दिन सम्मा पनि तौल हुन नसकेको किसानहरुले गुनासो गरेका छन् । निर्वाध रुपमा भारतीय उखु नेपाल भित्रिएपछि नेपालका उखु किसानले प्रमुख जिल्ला अधिकारीसँग आफूहरुको उखु खेतमा सुक्न थालेको र भारतीय उखु नेपालमा भित्रिएको गुनासो गरेका छन् ।

भारतीय उखु नेपाल भित्रिएको खबर आफूले पाएकोले तत्कालै रोक्नका लागि पहल गर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । नेपाली बिचैलीयाले सीमा क्षेत्रमा भारतीय किसानसँग खरिद गरेको उखु सर्लाहीको इन्दुशंकर चिनी कारखाना हरिवन, अन्नपूर्ण सुगरमिल धनकौल र एभरेष्ट सुगरमिल मोहत्तरी रामनगरले खरीद गरेर क्रसिङ गरेको छ ।

यहाँका किसानका लागि भने अझै उखुको मूल्य निर्धारण हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here