बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिर हो तर बर्खायाम नसकिदै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ ।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् ।
“अघिल्ला वर्षको यही समयमा उन्सु मात्रै १५÷२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ” खड्काले भन्नुभयो “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन् ।
सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ ।” बेमौसमी सुन्तलाको रुख सानो भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ । यो समयमा उत्पादन भएको सुन्तला प्रतिकिलो रु १५० मा बिक्री हुने खडकाको भनाइ छ ।
चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उहाँ उत्साहित हुनुहुन्छ ।
“मैले परीक्षणका लागि मात्रै १०० बोट सुन्तला लगाएको थिएँ, परीक्षण सफल भयो अब यसको व्यावसायिक उत्पादनका लागि बगैँचा विस्तार गर्ने योजनामा छु”, खड्काले भन्नुभयो ।
कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाउनुभएको हो ।
व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काको बुझाइ छ ।
चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ ।