काठमाडौं । सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केटले चिनीको तौलमा उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा सुपरमार्केटले उपभोक्तालाई कम तौलको प्याकेजिङको चिनी बिक्री गर्ने गरेको भेटिएको विभागले जनाएको छ ।
एक किलो भनि प्याकेजिङ गरिएको चिनीको प्याकेटमा २० ग्राम कम तौल भेटिएको विभागक एक कर्मचारीले बताए। एक किलोको प्याकेट भनेर सुपरमार्केटले बिक्रीमा राखेको चिनी उनीहरुकै काँटामा तौल गर्दा ९८० ग्राम फेला परेको विभागले जनाएको छ ।
तौलमा उपभोक्ता ठगी गरेको आरोपमा सुपर मार्केटको चिनीलाई सिल गरी तीन दिनभित्र विभागमा हाजिर हुन सेल्सबेरीलाई पत्र काटिएको विभागले जनाएको छ । नाप तौलमा हुने ठगी सम्बन्धमा नेपाल गुणस्तर तथा नाप तौल ऐन आर्कषित हुने भएकाले सोमार्फत कारबाही गर्न प्रस्ताव गरिने विभागले जनाएको छ ।