कृषि अनुसन्धान कार्यालयले मार्सी धानको नयाँ जात विकास गरेको छ । विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको जुम्ली मार्सी धानको नयाँ जात विकास गरिएको हो । कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख रेशमबाबु अमगाईका अनुसार १३ वर्षको अनुसन्धानबाट विकास गरिएको धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी– २२ नाम दिइएको छ । विकास गरिएका यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा परीक्षण गरिसकिएको छ ।
परम्परागत मार्सी धानमा ब्लास्ट रोगको प्रकोप बढ्न थालेपछि रोग प्रतिरोधी मार्सी धान विकासका लागि नार्कका वैज्ञानिक लागि परेका थिए । विकसित नयाँ धान औपचारिक रुपमा घोषणा गरिएको छैन ।
नार्कले औपचारिक रुपमा घोषणा नगर्दासम्म किसानलाई वितरण गर्न मिल्दैन । विकास गरिएको धानको बोट मार्सीजति नै अग्लो हुन्छ । चिसो सहन सक्ने, पाक्ने समय पनि एउटै र दाना पनि मार्सीको जस्तै हुने कार्यालयले जनाएको छ ।
सन् २०१० देखि नै जुम्ली मार्सी धान संकलन गरी अनसन्धान सुरु गरिएको अमगाईको भनाई छ । जुम्ली मार्सी धान १ हजार ४ सय हेक्टरमा लगाइन्छ । औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ । हरेक वर्ष ब्लास्ट रोगले मात्र २६ प्रतिशत नास गरिरहेको छ । यो भनेको मार्सी धानको कुल उत्पादनमा एक चौथाइ हो ।
अमगाईका अनुसार जुम्लामा बर्सेनि २६ करोड रुपैयाँ बराबरको धान फल्छ । प्रतिहेक्टर १ लाख ४० हजार रुपैयाँ बराबरको धान फलिरहेको छ । ब्लास्ट रोगका कारण ६ करोड रुपैयाँ बराबरको उत्पादन बर्सेनि नोक्सान भइरहेको छ ।