पशु सेवा परिषद विधेयकको पक्षमा खबरदारी र्‍याली

काठमाडौं । प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक राष्ट्रियसभाबाट रोक्न लागेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल एनिमल साइन्स एशोसियसन, पारा भेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन र पशु स्वास्थ्य सेवा प्राविधिक संघले विधेयक रोक्न लागेको भन्दै प्रदर्शन गरेका हुन ।

नेपाल भेटेरीनरी काउन्सील ऐन २०५५ ले पशु स्वास्थ्यको क्षेत्रलाई सम्बोधन नगरेको भन्दै संसदको कृषि तथा जलस्रोत समितिले विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार ल्याइएको विधेयकलाई लिएर भेटेरीनरी डाक्टरहरुले विरोध गर्दै आएका छन् ।

उनीहरुले भेटेरीनरी काउन्सील ऐन प्रतिस्थापन गर्ने गरी विधेयक ल्याइएको भन्दै रोक्नुपर्ने माग गरेका छन् । तर, पशु सेवा क्षेत्रका अन्य संस्थाले भने भेटेरीनरी काउन्सील ऐनले सबै क्षेत्रलाई नसमेटेका कारण विधेयक ल्याउनु परेको र यसको कुनै ऐन नमिच्ने बताउँदै आएका छन् ।

यो विधेयक आएपछि विशेषज्ञता हासिल गरेका पशु चिकित्सकले पशु स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउने भएका कारण यसलाई रोक्न नहुने उनीहरुको तर्क छ ।

नेपाल भेटेरीनरी काउन्सील ऐन २०५५ ले विशेषज्ञ चिकित्सकलाई पशु स्वास्थ्यमा काम गर्नबाट रोक लगाएको र यो विधेयक आएपछि देशभर रहेका यस्ता विशेषज्ञ पशु चिकित्सकले न्याय पाउने बताइएको छ ।

भेटेरीनरी काउन्सील ऐन २०५५ ले देशभरका ५ सय हाराहारीमा रहेका विशेषज्ञ पशु चिकित्सक र ६० हजार जना अन्य पशु चिकित्सकलाई सेवा प्रवाहमा रोक लगाएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकको पक्षधरहरुको आरोप छ ।

तर, भेटेरीनरी डाक्टरहरुले भने विधेयकले आफूहरुको सेवामा संकुचन आउने र यसले पशु स्वास्थ्यमा असर पार्ने भन्दै विधेयक रोक्नुपर्ने माग राख्दै आएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here