चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुर, चितवनको आयोजनामा आउदो कार्तिक ३ देखि ६ गतेसम्म एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ ।
सम्मेलन इन्टरनेशनल गोट एशोसिएसन, अमेरिकासँगको सहकार्य तथा नेपाल सरकार, पशुपन्छी बिकाश मन्त्रालय, पशु सेवा बिभागको समन्वयनमा हुनेछ ।
हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट यूनिभर्सिटी, अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थान यस सम्मेलनको सह–आयोजकको रुपमा रहने विश्विद्यालयले जनाएको छ ।
सम्मेलनले बाख्रापालनको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिको लागि विविध प्रविधियुक्त आधुनिक खोजमुलक जानकारी सम्प्रेषण गर्ने आयोजकले जनाएको छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा यस क्षेत्रमा कार्यरत बैज्ञानिक, अनुसन्धान निकायहरु, विश्वविद्यालयहरु एवं सरकारी र गैह्र सरकारी संघ संस्थाहरुको बिचमा बृहत संजाल र सहकार्यको बिस्तार गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरलाई भविष्यमा बैज्ञानिक बाख्रापालनको एउटा नमुना राष्ट्रिय अनुसन्धान तथा श्रोत केन्द्र बनाउने सम्मेलनको उद्धेश्य रहेको जनाइएको छ ।
‘विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, क्यूवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेसिया, बंगलादेश, फ्रान्स, केन्यालगायत १४ देशका बाख्रा अनुसन्धान र बिकाशमा बिशिष्ट योगदान पु¥याउन सफल बैज्ञानिक, अनुसन्धाता, उद्यमी र बिद्यार्थीहरुको सहभागिता हुनेछ ।
सम्मेलनमा खाद्य तथा पोषणको श्रोत, बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य शृंखला विकाश, बाख्राको आहारा, पोषण तथा वासस्थान व्यवस्थापन आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि बिकाश सम्बन्धि विधाहरुलाई समेटेर करिब ७ वटा बिशेषज्ञ कार्यपत्र पेश गरिने छ ।
त्यस्तै २१ वटा आमन्त्रित, ३५ बढी मौखिक र ५२ बढी पोस्टरहरु गरि जम्मा ११५ भन्दा बढी बैज्ञानिक कार्यपत्रहरु प्रस्तूत हुने आयोजकको विशवास छ ।
बाख्रा अनुसन्धान र बिकाश केन्द्रित यस किसिमको सम्मेलनमा अमेरिकाबाट इन्टर्नेशनल गोट एशोसिएसनका अध्यक्ष डा. बेथ मिलर, आगामी वर्ष हंगेरीमा सम्पन्न हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञहरुको सम्मेलन २०२० आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि बिश्वबिद्यालय, पशु बिज्ञान तथा प्रबिधि कलेजका डीन प्रा. डा. यिङ्गजी झाङ्ग, जापानस्थित मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका बिशिष्ट बैज्ञानिक, प्राज्ञ र बिध्यार्थीहरुको सहभागिता रहनेछ ।