चितवन, जेठ १८ – चिततवनको कालिका नगरपालिका–६ मा किसानले लगाएको केरा खेती काटेको आरोपमा पक्राउ परेका पाँचजना जेलचलान भएका छन् ।
गत वेशाख १७ गते राति १२ जना किसानको केरा बारीमा लगाएको केरा काटेको आरोपमा उनीहरु पक्राउ भएका थिए । सोही आरोपमा उनीहरुलाई चितवन कारागारमा जेल चलान गरिएको हो ।
केरा काटेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर–६ का अर्जुन गहतराज, कालिका–१ का मनीषबहादुर गुरुङ, कालिका–३ का सुजन लोप्चन, कालिका–३ कै गोपाल परियार र कालिका–५ का उमेश माझीलाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध सार्वजनिक कसुर तथा सजाय ऐनअन्तर्गत्को मुद्दा दर्ता गरी अनुसन्धान गरेको र फैसलाका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा पठाइएकामा जनही २ लाख २५ हजार रुपैयाँ धरौटी माग भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
माग गरेबमोजिम धरौटी रकम बुझाउन नसक्दा पाँचैजना जिल्ला करागार चितवन जेल चलान भएका हुन । केरा फडानी हुँदा १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको किसानहरुले दावी गरेका थिए ।