पूर्वी चीनको जियाङ्सी प्रान्तका किसानले काटेको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने उनीहरुको भनाई छ ।
किसानहरूले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने किसानको भनाइ छ । विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ ।
जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरक–फरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए । पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय,पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताए ।
जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धान कर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए ।
रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको वचत हुन्छ । यससँगै किसानले कम लागत, दक्षतावृद्धि, माटोको संरक्षण, छिटो उत्पादन र कम वातावरणीय प्रभावका साथै दिगो रुपमा भुमिको प्रयोग गर्न सक्नेछन् ।