होमनाथ सापकोटा/ चितवन ।
रत्ननगर – रत्ननगर नगरपालिकाले नगर भित्रका किसानले व्यवसायिक रुपमा पालेका सुत्केरी गाईहरुलाई पोषण भत्ता दिने भएको छ । पशुपालको विकास गरी दुध उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ देखि गाईलाई सुत्केरी भत्ता दिने भएको हो ।
जेठ १५ गते सम्पन्न तेश्रो नगर सभाले पशु विकास कार्यक्रम अन्तर्गत सुत्केरी गाईलाई भत्ता दिने कार्यक्रम पारित गरेको मेयर नारायण वनले बताए । गाईलाई सुत्केरी भत्ता दिन नगरपालिकाले सो आर्थिक बर्षको लागि २० लाख रुपैया विनियोजन गरेको उनले जानकारी दिए । सरकारले सुत्केरी आमालाई भत्ता दिँदै आएको छ उनले भने सोही कार्यक्रमको अनुसरण गरी हामीले गाईलाई सुत्केरी भत्ता दिनेछौं ।
सुत्केरी अबस्थामा मान्छे होस या पशु जसलाई पनि पौष्टिक आहार आवश्यक पर्छ मेयर वनले भने सुत्केरी अबस्थामा पोसिलो आहार खान पायो भने गाईले धेरै दुध दिन्छ र त्यसले दुध उत्पादन बृद्धि गर्ने छ । सुत्केरी गाईलाई भत्ता स्वरुप ५०० रुपैया सहित औषधि,हरियो घाँस र पौष्टिक आहार प्रदान गरिने पशुपंछी विकास शाखा प्रमुख शालिकराम पौडेलले जानकारी दिए ।
नगरपालिकाले प्रदान गर्ने सुत्केरी भत्ता र पोष्टिक आहार किसानले आफुले दुध विक्री गर्ने दुग्ध उत्पादक सहकारी संस्थाबाटै दिन सक्ने व्यवस्था मिलाईने पौडेलले जानकारी दिए । दुग्ध उत्पालक सहकारी संस्थालाई नगरपालिकाले पैसा दिने र सहकारी संस्थाले किसानलाई भत्ता रकम र पोष्टिक आहार प्रदान गर्ने छ । गाई सत्केरी भएको ११ देखि ३५ दिन भित्र किसानले भत्ता रकम र औषधि तथा तोकिएको पोष्टिक आहार लगेर गाईलाई खुवाउनु पर्ने छ ।
सुत्केरी गाईपाल्ने किसानलाई घाँसको बीउ समेत नगरपालिकाले उपल्ब्ध गराउने भएको छ । पशुपालन व्यवसाय प्रर्बद्धनका लागि नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ का टिकौलीमा गौशाला निर्माण देखि पशु आहार सम्मको कार्यक्रम ल्याएको छ । पशुहरुमा लाग्ने रोग निवारणको लागि नियमित अनुगमन र उपचार,नष्ल सुधारको लागि कृत्रिम गर्भादानको लागि सामाग्री सहयोग,पशुको श्रोत केन्द्रको विकास तथा विस्तार,व्यवसायिक पशु फर्मको प्रर्वद्धन गर्न अनुदानसंगै आवश्यक सामाग्री सहयोग गर्ने पशुपंछी विकास शाखा प्रमुख पौडेलले बताए ।
त्यसैगरी पशु आहार विकास कार्यक्रम सञ्चालन गरी घाँस खेतिको विस्तार गर्ने र त्यसका लागि नगरपालिकाले किसानलाई अधिकतम अनुदान तथा पशुधन सुरक्षाको लागि बिमा कार्यक्रम ल्याइएको उपमेयर विमला दुवाडीले बताइन । दुध उत्पादनमा रत्ननगरलाई आत्मनिर्भर बनाएर किसानको जीवन स्तर उकास्ने गरी नीति तथा कार्यक्रम ल्याइएको उनको भनाई छ ।