रुपन्देहीको देवदह नगरपालिकाले दुधको उत्पादन बढाउनका लागि नगरपालिका भित्र सेक्स सिमोन डोज वितरण गर्ने भएको छ । नगरपालिकाले नश्ल सुधार कार्यक्रमसँगै कृत्रिम गर्भाधान गराउन विदेशबाट आयात गरिएको बाच्छी मात्रै जन्मिने सेक्स सिमोन डोज वितरण गर्ने भएको हो । यसका लागि नगरपालिकाले आर्थिक बर्ष ०७५÷०७६ का लागि ३० लाख रुपैयाँ बजेट छुटयाएको नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताउनुभयो ।
नगरपालिकाले यो बर्ष १ हजार गाईमा कृतिम गर्भाधान गराउने लक्ष्य लिएको छ । एक डोजलाई ३ हजार पर्ने अनुमान सहित १ हजार गाईका लागि ३० लाख रुपैयाँ बजेट छुटाएको उहाँले जानकारी दिनुभयो ।
पशुविज्ञहरुका अनुसार सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने सम्भावना ९९ प्रतिशत हुन्छ । नेपाल सरकारले केही समयदेखि सानो सङ्ख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यस पटक देवदहले पहिलो चरणमा १ हजार गाईमा कृत्रिम गर्भधान गराउने योजना अगाडी बढाएको छ । देवदहमा बार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्ने अनुमान छ ।