काठमाडौं, जेठ १ –
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले तरकारीमा रहेको सिण्डिकेट समाप्त पार्ने बताउनुभएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले दलालहरुले कृषकको बारिबाटै सुरु गर्ने तरकारीको सिण्डिकेट तोडेरै छाड्ने बताउनुभएको हो ।
तरकारीमा देखिएको सिण्डिकेट अन्त्य गर्न कृषि खेती नगरी काठमाडौंको कालिमाटी तरकारी बजार कब्जामा लिनेलाई हटाइने बताउनुभयो । अबदेखि जसले तरकारी उत्पादन गर्छ उसैलाई कालिमाटी तरकारी बजारमा बिक्रिका लागि स्टल उपलब्ध गराउने योजना मन्त्रालयले ल्याउन लागेको पनि मन्त्री खनालले जानकारी दिनुभयो ।
खेतबाट सिधै बिक्रि केन्द्रसम्म किसानले उत्पादन गरेको तरकारी ल्याउन सरकारले सहुलियत अनुदानमा कृषकलाई गाडी उपलब्ध गराउँछ । उहाँले भन्नुभयो, ‘केही समय लाग्ला तर तरकारीको सिण्डिकेट तोड्नैपर्छ ।’
कृषकलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि उहाँले खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘किसान पेन्सन दिनुपर्छ, अनुदान पनि दिनुपर्छ, सिधै किसानको खातामा पैसा जानेगरि पेन्सन पठाउने व्यवस्था हुन्छ ।’
मन्त्री खनालले भारतसँग नेपालको राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतमा जस्तो कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर अहिलेसम्म नेपालमा नरहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि क्षेत्रको व्यवसायीकरण, वैज्ञानिकिकरणका लागि इजरायली मोडलको विकास गरिने भन्दै उहाँले निकट भविष्यमा इजरायलसँग सहमति गरेर अघि बढ्ने बताउनुभयो ।
नेपालमा ६६ प्रतिशत नागरिक कृषिमा आधारित रहे पनि कृषि क्षेत्रको आधुनिकिकरण हुन नसक्दा उनीहरुको अवस्था अझै दयनीय अवस्था नै रहेको भन्दै त्यसका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभयो ।