बोट मर्ने समस्याले ओखलढुंगामा सुन्तला उत्पादन घट्यो

ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो । यसवर्ष रुम्जाटारका अधिकांश सुन्तलाका बोटमा फल लागेको छैन ।

फल लागेको सुन्तलामा पनि कीरा लागेको सुन्तला कृषक बताउँछन् । कुनै समय कोशेलीका रुपमा समेत टाढाटाढा पठाइने गरेको सुन्तला पछिल्ला वर्षहरुमा नफलेपछि रुम्जाटारका कृषक चिन्तित छन् ।

सुन्तलाको बोट बुढो भएको र नयाँ बोटलाई मलजल नपुग्दा सुन्तलाका बोट मर्ने र रोग लाग्ने समस्या हुने गरेको कृषि प्राविधिकहरुले बताएका छन् । उत्पादन घटेपछि यहाँका कृषकले सुन्तलाको बोट काटेर मास्न थालेका छन् ।