कुखुरा किसानलाई पेशामा टिक्नै गारो, अण्डामा ३ र मासुमा १५ रुपैयाँ घाटा

चितवन – कुखुराको अण्डा र मासुको मूल्य समयानुकूल समायोजन नभएको भन्दै कुखुरापालक किसानले आफूहरू मारमा परेको बताएका छन् ।

भारतबाट आउने कच्चा पदार्थमा भन्सारदर बढी हुँदा कुखुराजन्य वस्तु उत्पादनको लागत बढेको तर कुखुरा र अण्डाको मूल्य त्यसअनुरूप समायोजन नहुँदा आफूहरू मारमा परेको उनीहरूको दाबी छ ।

दानाको मूल्य दिन प्रतिदिन बढ्दो छ तर अण्डा लागत मूल्यभन्दा घटीमा बेच्नुपर्ने बाध्यता छ, पश्चिम चितवनका एक किसान भन्छन्, “यही अनुपातमा कुखुराको अवस्था कायमै रहने हो भने व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउँछ ।”

पहिले १.५ प्रतिशत रहेको भन्सार महसुल अहिले पाँच प्रतिशत पुगेको छ । दानासँगै भारतबाट आउने औषधिको समेत अहिले मूल्य बढेको छ ।
कुखुराको दानाका लागि मकै, भटमासजस्ता कच्चा पदार्थ प्रयोग गरिन्छ । भन्सारदरमा भएको वृद्धिसँगै यसको खरिद मूल्य पनि बढ्नु स्वाभाविक हो । कम हुँदा आयत गरिँदाकै मूल्यभन्दा पनि कम मूल्यमा अहिले अण्डा र कुखुराको कारोबार भइरहेको किसानको दुःखेसो छ ।

मकै ४० देखि ४५ रुपियाँ केजी पर्छ, भटमासको मूल्य पनि प्रतिकिलो ७० रुपियाँभन्दा बढी छ, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल भन्नुहुन्छ, “मकै र भटमासको मूल्य बढ्दा दानाको मूल्य बढेको छ । यसको प्रत्यक्ष प्रभाव अण्डा र कुखुरा उत्पादन गर्ने किसानमा परेको छ ।”

अहिले किसान तहमा प्रतिक्रेटमा ठूलो अण्डाको २५० रुपियाँ र मझौला अण्डामा १८० रुपियाँ मूल्य कायम भएको छ । केही अघिसम्म ठूलो अण्डाको २०० रुपियाँ र मझौला अण्डाको १३० रुपियाँ मात्रै थियो । अहिले वृद्धि भएकै ठूलो अण्डाको मूल्यलाई आधार मान्ने हो भने अहिले किसानले एउटा अण्डाको मूल्य ८।३३ रुपियाँ पाएका छन् । क्रेटमा ३० वटा अण्डा हुन्छन् ।

यस्तै ब्रोइलर कुखुराको मासु पनि अहिले किसान तहमा प्रतिकिलो १९० रुपियाँ छ । कुखुरा पाल्न भएको लगानीका तुलनामा यसको मासु र अण्डाको मूल्य कमी हो । किसान राजकुमार श्रेष्ठ भन्नुहुन्छ, “हामीलाई अहिले लागतको तुलनामा एउटा अण्डामा तीन रुपियाँ र कुखुरामा प्रतिकिलो औसत १५ रुपियाँ घाटा भइरहेको छ ।”

नेपालभर अहिले दैनिक ३५ देखि ४० लाख अण्डा उत्पादन भइरहेको छ । यो सङ्ख्या चितवनमा १५ हजारको हाराहारीमा भएको नेपाल कुखुरा व्यवसायी मञ्चको तथ्याङ्क छ ।

यस्तै नेपालमा अहिले दैनिक पाँच लाख केजी कुखुराको मासु खपत भइरहेको छ । नेपालमा खपत हुने कुखुराको मासु नेपाली उत्पादनले धानेको पाइन्छ । आफै आत्मनिर्भर हुँदै गएको व्यवसायमा पनि देखिएको यो समस्या समाधानमा तत्काल सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
नेपालको कुल गार्हस्थ उत्पादनको करिब चार प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब आठ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । पोल्ट्री क्षेत्रमा करिब एक लाख ५० हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् ।

पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्कअनुसार नेपालमा करिब सात करोड कुखुरा छन् । देशको कुल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । मञ्चका व्यवस्थापक शिवप्रसाद बराल किसानलाई विस्थापित हुनबाट बचाउन पनि मासु र अण्डाको मूल्य लागतअनुसारको समायोजन हुनुपर्ने जरुरी ठान्नुहुन्छ । कम्तीमा किसानको लागत बराबरको मूल्य कायम हुन सक्ने हो भने मात्रै पनि साना किसानलाई यो पेसामा टिकाइराख्न सकिन्छ ।–गोरखापत्रबाट