बागलुङ – ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबारदेखि शुरु भएको छ ।
ताराखोलाका मगर समुदायको कुलपूजाको अवसर पारेर यो मेलालाई पर्वको रुपमा मनाउने चलन छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिँड्ने र युवायुवतीले खोसाखोस गरेर यो पर्व मनाउने गरिन्छ । सोमबार राति कुलपूजाका लागि बलि दिन तयार पारिएको सुङ्गुर र कुखुरालाई वैधिकविधि अनुसार पूजा गरेर मङ्गलबार बिहान भेडालाई घोच्ने र त्यसपछि विधि पुर्याएर बलि दिने प्रचलन यहाँका मगर समुदायमा छ ।
कुलपूजामा बलि दिने भेडालाई घोचेर दुःख दिनका लागि कुलपूजा आयोजना गर्ने परिवार सदस्यको भञ्जा नाता पर्ने दुई जना हुनुपर्छ । मगर समुदायको परम्पराअनुसार तिथिमिति मिलाएर गरिने कुलपूजाका लागि भारतको नयाँदिल्लीबाट सुङ्गुर र नेपालको सुदूरपश्चिम सुनगाउँबाट सुन पंक्षीको रुपमा कुखुरा ल्याउनुपर्ने प्रचलन रहेको छ ।
दिल्लीबाट सुङ्गुर र सुनागाउँबाट कुखुरा ल्याउन सम्भव नभएपछि परम्पराअनुसार रातभर मगर भाषा अनुसार बाखामाखा पूजा गरेर सुङ्गुर र कुखुरालाई बलिको लागि तयार पारिन्छ । देउता र पितृका लागि सुङ्गुरको बलि दिएपछि साँप्रो काटेर बाँधिएको सिस्नोको भारी खोसाखोस गर्ने मेला ताराखोलाको अर्गलमा लाग्दै आएको पुरानो मेला हो ।
यसरी सस्नो खोस्दा मनले चिताएको पुग्ने, वैवाहिक जीवन सुखमय बन्ने विश्वासले युवाले सिस्नो खोस्ने गर्छन् । अर्गल, हिल र ताराखोलालगायतका मगरको संस्कृतिमा सिस्नो खोस्ने पर्व अनिवार्य मानिन्छ । पूजापाठ र बलि सकिएपछि युवाले सिस्नोका भारीमा सुङ्गुरको साँप्रो बाँधेर बोकेपछि भारीसँगै नाच्न थाल्छन् । अविवाहित युवती ती भारीबाट सिस्नो र सुङ्गुरको मासु खोस्न निस्कन्छन् । यो क्रम निकै लामो समयसम्म चल्ने गरेको छ ।