नवलपरासी – नवलपुरको कावासोती–१५ का सुनिल गुरुङ टर्कीपालन व्यवसायबाट वार्षिक लाखौंको आम्दानी गर्न सफल हुनुभएको छ । ६ वर्ष वैदेशिक रोजगारीमा कतार जानुभएका गुरुङले विगत २ वर्षदेखि गुरुङ टर्की फर्म संचालन गर्दै आउनुभएको छ ।
चितवनको रामपुरबाट ८० वटा टर्की ल्याएर ६० हजारको लगानीमा टर्की पालन व्यवसाय शुरु गर्नुभएका सुनिल गुरुङले यतीबेला राम्रो आम्दानी गर्नुभएको छ । पाल्नको लागि सजिलो र आम्दानिको हिसाबले पनि राम्रो आम्दानी भए पछि उहाँ यो पेशातर्फ आर्कषित हुनुभएको हो ।
१० देखि १२ केजि सम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा प्रोटिन, आईरन जस्ता तत्व पाइने हुँदा यो विरामीका लागि पनि उपयुक्त हुन्छ । तर स्थानीय स्तरमा टर्कीको मासुको महत्व कम हँुदा बिक्रिका लागि बाहिरी बजारमा लानुपर्ने बाध्यता छ ।
लामो समय विदेश बस्नु भएका गुरुङ यतीबेला परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा फुरुङग हुनुहुन्छ । विदेशमा कमाएको भन्दा राम्रो आम्दानी नेपालमा नै गर्न सकेको उहाँले बताउनुभयो ।
रोजगारीका लागि दैनिक हजारौ युवाहरु विदेश गइरहेको बेला स्वदेशमा नै रोजगारीमुलक काम गरेका गुरुङ ।समाजमा उदाहरीय पात्र बनेका छन ।