बजारमा तरकारीकाे भाउ छाेइ नसक्नु छाक टार्नै मुस्किल

काठमाडौं । मध्यम र निम्न मध्यम वर्गीय परिवारलाई साँझ–विहान धक फुकाएर दाल, भात, तरकारी खान नै धौं–धौं भएको छ अहिले । यसो शनिवार वा पाहुना–पाछा जम्मा भएका बेला खसीको मासु खाउँ भन्यो भने पनि खल्ती हेर्नुपर्ने भएको छ । किनकी बजारमा तरकारी र मासुको भाउले अत्याएको छ ।

उत्पादन कम, आपूर्ति कम, ढुवानी समस्या, तराईको बाढी र किसानले नै बढी लिन थाले भन्दै काठमाडौं उपत्यकामा तरकारीको भाउ यसरी बढाइएको छ कि– २ सय जति खर्चिएन भने त छाक टार्न नै मुस्किल छ । केही तरकारीमा अघिल्लो वर्षको यही समयको तुलनामा २ सय ४४ प्रतिशतसम्म भाउ बढेको छ ।

काठमाडौं उपत्यकाको थोक केन्द्र कालिमाटीमै गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरोलगायत थुप्रै तरकारीको मूल्य अचाक्ली बढेको छ । फलफूलको त झन कुरै भएन ।

प्रायः वर्षातको बेला तरकारीको भाउ केही बढ्नु स्वभाविकै हो । तर, अहिले ह्वात्तै बढाइएको छ । सामान्य भन्दा धेरै पानी पर्नाले ढुवानी कम हुने र छिट्टै कुहिने समस्याका कारण भाउ बढेको व्यापारीको तर्क छ । तर, कालीमाटीमा दैनिक भित्रिरहेको तरकारीको परिमाण हेर्दा ढुवानीमा त्यतिधेरै अन्तर देखिदैन ।

तरपनि व्यापारी आपूर्ति नै कम छ, किसानले नै बढि पैसा लिन थाले भनेर निरन्तर भाउ बढाइरहेका छन् । जुन सुकै बस्तु विक्रि गर्दा पनि कानूनतः २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । तर, तरकारीमा थोक विक्रेताले नै ६०/७० प्रतिशतसम्म नाफा लिइरहेका छन् । तरपनि सरकारले बजारमा प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता मारमा छन् ।

तथ्यले अघिल्लो वर्षको साउन पहिलो साताभन्दा यो साउनको पहिलो सातामा तरकारीको भाउ २ सय ४४ प्रतिशतसम्म बढेको देखाएको छ । तर, सरकारी अधिकारी धेरै होइन, सामान्य मात्रै बढेको हो भन्छन् । काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा बढेको जनगुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार दिन अघि कालिमाटी तरकारी तथा फलफूल बजारमा अनुगमन ग¥यो । र, त्यसक्रममा वल्लो सटर र पल्लो सटरमै मूल्य फरक पाइयो ।

नियमित आपूर्ति भइरहँदा पनि तरकारीको मूल्य बढाइएको छ । र, त्यसमा विचौलियाले मनग्य फाइदा लिइरहेका छन् । उपभोक्ता सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने माग त गर्छन् । तर, सरकार सक्रिय हुँदैन । र, यही कारण उपभोक्ता मारमा परिरहेका छन् । तपाईंलाई अचम्म लाग्ला अघिल्लो साउनको पहिलो सातामा भन्दा यो समयमा केही तरकारीको मूल्य भने घटेको छ । तर, मूल्य घटेका तरकारी सीमित छन् ।

काठमाडौं उपत्यकाको थोक केन्द्र कालिमाटीमा त्यहाँको बजार विकास समितिले फलफूल तथा तरकारी दिनदिनै मूल्य तोक्छ । तर, त्यहीँ पसलैपिच्छे भाउ फरक छ । कालिमाटीबाट लैजाने खुद्रा विक्रेताले आफूखुसी मूल्य असुलेर उपभोक्तालाई हैरान पारेका छन् ।

कालिमाटीमै बल्ल–बल्ल अनुगमन गर्ने सरकारी निकायले खुद्रा पसल अनुगमन गर्ला र उपभोक्तालाई राहत देला भन्ने त कल्पना मात्रै पनि निरर्थक हुन्छ । बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता यसरी नै गगिनु पर्ने निश्चित छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here