सगरमाथालगायत अन्य हिमाल आरोहणबाट मात्र यस वर्ष ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न २९ वटा हिमाल आरोहणका लागि उठाइएको रोयल्टी ९आरोहण अनुमतिपत्र शुल्क० र फोहोर सफाइ शुल्क गरी संकलित कुल राजस्व रकम भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमय दरअनुसार ३९ लाख ६१ हजार ५० अमेरिकी डलरको प्रतिडलर १०८ रुपैयाँका दरले हिमाल आरोहणबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको हो । विभागले अहिलेसम्म सरकारले आरोहणका लागि खुला गरेका ६ हजार ५ सय मिटरभन्दा धेरै उचाइ भएका सगरमाथासहित विभिन्न हिमालबाट राजस्व संकलन गर्दै आएको छ ।
यसबाहेक ६ हजार ५ सय मिटरभन्दा कम उचाइ भएका ३३ वटा विभिन्न हिमालको आरोहण शुल्क उठाउने र त्यसको उचित व्यवस्थापन एवं प्रवद्र्धन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघलाई प्रदान गरिएको छ । यससँगै सगरमाथालगायत विभिन्न हिमाल आरोहणमा जाने विदेशी आरोहीले सम्बन्धित हिमालको स्थानीय निकायलाई बुझाउनुपर्ने शुल्क यसमा समावेश भएको छैन ।
अहिलेसम्म मुलुकभर आरोहण खुला भएका सम्पूर्ण हिमाल व्यवस्थापन र नियमन गर्दै आएको पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि स्वदेशी स्वदेशी र विदेशी आरोहीहरूले बुझाएको आरोहण रोयल्टी र हिमाल सफाइ शुल्कबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका महानिर्देशक दिनेश भट्टराईले सगरमाथालगायत विभिन्न हिमाल आरोहणबाट विभागले उठाएको यो सबै रकम सिधै सरकारी राजस्व ढुकुटीमा नै जम्मा हुने बताए । उनले यस विभागले हिमालमा केही नयाँ कार्यक्रम गर्नुपरेको खण्डमा पनि अर्थ मन्त्रालयबाट छुट्टै रकम निकासा गरी खर्च गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराए । उनले यसवर्ष सगरमाथासहित विभिन्न २९ वटा हिमाल आरोहणका लागि कुल १०५ वटा आरोहण दलका ८३९ जनाले विभागबाट राजस्व रकम बुझाएर आरोहण अनुमति लिएको बताए ।
पर्यटन विभागले यस वर्ष २० जना स्वदेशी र ३२६ जना विदेशी गरी कुल ३४६ जना आरोहीले सगरमाथा अरोहणकालागि अनुमति लिएको जनाएको छ । विभागका प्रवक्ता रामप्रसाद सापकोटाले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति लिएका स्वदेशी आरोहीको संख्या अहिलेसम्मकै उच्च रहेको बताए ।